२८ असोज, काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरलाई थप तीन दिन थुनामा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश दीपक दाहालको इजलासले महरालाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । आजदेखि लागू हुने तीन दिनको म्याद शुक्रबार सकिनेछ । भोलीपल्ट शनिबार अदालत बन्द हुने भएकाले अब महरालाई आइतबार मात्रै अदालत लगिनेछ । प्रहरीले अनुसन्धान सकेको खण्डमा आइतबार नै महराको थुनछेक बहस हुन सक्ने छ ।

संसद सचिवालयकै कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेको आरोपमा महरा दशैंको अष्टमिका दिन अर्थात असोज १९ गते पक्राउ परेका थिए । महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासतमा रहँदा बिरामी भएपछि महरालाई अहिले थापाथलीस्थित नर्भिक अस्पतालमा राखिएको छ । आज विहान उनलाई अस्पतालबाटै अदालत लगिएको थियो । यौन दुव्र्यवहारको आरोप लागेपछि महराले सभामुखबाट राजीनामा दिइसकेका छन् ।