७ कात्तिक, काठमाडौं । संसद सचिवालयकै कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालई आज बिहीबार अदालतमा लगिँदैछ ।

फाइल फाेटाे

उनलाई पक्राउ गरेको १९ दिनमा तेस्रो पटक अदालत लान लागिएको हो । प्रहरीले अनुसन्धान सक्न बाँकी रहेकाले आज पनि म्याद थपको माग गरिने काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी उत्तम सुवेदीले जानकारी दिए । यसअघि प्रहरीले शनिबारदेखि लागू हुनेगरी आइतबार लिएको ५ दिनको म्याद हिजो सकिइसकेको छ । महरा असोज १९ गते सभामुख निवास बालुवाटारबाटै पक्राउ परेका थिए । प्रहरीले २५ दिनभित्र अभियुक्तमाथिको अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयलाई फाइल बुझाउनु पर्छ ।

तर महराको अनुसन्धान नसकिएकाले उनको फेरि म्याद माग्ने तयारी भएकाले उनको यसपटकको तिहार पनि प्रहरी हिरासतमै बित्ने भएको छ । आज म्याद थप भएको अवस्थामा उनको मुद्दामाथि थुनछेक बहस तिहारपछि मात्रै हुनेछ ।

उनलाई संसद सचिवालयकै कर्मचारी रोशनी शाहीले आफूमाथि बलात्कार प्रयास गरेको आरोप लगाएपछि प्रहरीले पक्राउ गरी मुद्दा चलाउन लागेको हो । तर शाहीले पछि महराले आफूमाथि कुनै दुर्व्यवहार नगरेको भन्दै अदालतमा निवेदन दिएकी छिन् ।