१५ असोज, काठमाडौं । यौन हिंसाको आरोप लागेपछि प्रतिनिधिसभाको सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महराले सुटुक्का अर्को राजीनामा दिएका छन् ।

दोस्रो पटक बुझाएको राजीनामामा पहिलाको जस्तो कुनै शर्त राखिएको छैन । हिजो उनले उपसभामुख डाक्टर शिवमाया तुम्बाहाङ्फेलाई बुझाएको राजीनामा पत्रमा आफूमाथि लागेको आरोप छानवीन प्रक्रिया पूरा नभएसम्मका लागि भन्ने शब्द उल्लेख गरेका थिए । यस्तो राजीनामा पत्रमा उपसभामुखले असन्तुष्टि राखेपछि महराले सुटुक्क अर्को राजीनामा बुझाएको स्रोतले जनाएको छ । दोस्रो पटक शर्त हटाएर राजीनामा दिएपछि उपसभामुखको निर्देशनानुसार संसद सचिवालयले सभामुखको पद रिक्त भएको सूचना जारी गरेको थियो ।

महराको फोटो हट्यो

संसद सचिवालयले सभामुखको पद रिक्त रहेको सूचना जारी गरेसँगै वेबसाइटबाट महराको फोटो हटाइएको छ । संसद सचिवालयले संसदको वेबसाइटबाट महराको फोटो हटाएको हो । यो सँगै अब महराको सभामुख पदमा फर्कने संभावना सकिएको छ ।

संसद सचिवालयकै कर्मचारी रोशनी शाहीले महराले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । महराले राजीनामा दिइसकेपछि भने शाहीले महरा आफ्नो बाबु समान भएको र उनले कुनै यौन दुर्व्यवहार नगरेको बताउँदै आएकी छिन् ।