१६ असोज, काठमाडौं । सभामुख कृष्णबहादुर महरालाई यौन दुर्व्यवहारको आरोप लगाउने संसद् सचिवालयकी महिलाका श्रीमान–श्रीमतीले सम्बन्ध विच्छेद गर्ने लिखित निर्णय गरेका छन् । बिहीबार रोशनीका श्रीमान चित्रजंग शाहीले सम्बन्ध विच्छेद गर्ने निर्णयमा पुगेको फेसबुकबाट जानकारी दिएका छन् ।

सम्बन्ध विच्छेदमा श्रीमान्–श्रीमती दुबैले हस्ताक्षर गरेको पत्र चित्र जंगले फेशबुकमार्फत सार्वजनिक गरेका छन् । सार्वजनिक गरिएको पत्रमा ‘प्रीय जनहरु, थुप्रै उतार चढावका बीच हाम्रा साथ साथ २८ वर्ष दिनहरु विते । समयको गतिसँगै असहमति असन्तुष्टि आउँदा रहेछन् । तथापी खुशी साथ अलग बस्ने निर्णय गरेका छौं । कानुनी प्रक्रिया निरन्तरताका साथ’उल्लेख गरिएको छ । अब उनीहरु कानुनी प्रक्रियामा जानेछन् ।

संसद सचिवालयमा कार्यरत शाहीले सभामुख महराले आफूलाई बलात्‍कार गरेको आरोप लगाएकी थिइन् । हाम्रा कुरा अनलाइनसँगको भिडियो अन्तर्वार्तामा ती महिलाले महराले लामो समयदेखि आफूमाथि दुर्व्यवहार गर्दै आएको दाबी गरेकी थिइन् । तर २४ घण्टा नबित्दै उनले बयान फेरेकी छन् । नागरिक खबरको १६ मिनेट लामो भिडियोमा ती महिलाको परिचय लुकाइएको छैन । बरु अन्तर्वार्ताकारले ती महिलालाई सोध्छन्– तपाईँसँगको यो कुराकानी प्रशारण गर्दा हुन्छ ? रोशनी नाम भएकी ती महिलाले एकछिन सोचेर जवाफ दिन्छिन्– ‘हुन्छ।’

अघिल्लो दिनको भिडियोमा आफैंले भनेका धेरै कुरालाई उनले काटेकी छन्। जस्तो उनले अघिल्लो दिन भनेकी छन्– महराले रक्सीको नशामा आफूलाई बलात्कार गरे । त्यसपछि कुटपीट गरे । जुत्ताको तलुवा र फुटेको चस्मा देखाउँदै उनी त्यसलाई महराको भएको बताउँछिन् । तर दोस्रो दिनको भिडियोमा उनी जुत्ताको तलुवा र चस्मा आफ्नै श्रीमानको भएको दाबी गर्छिन् ।