१९ वैशाख, रत्ननगर (चितवन)।

नेकपा (एमाले)ले भरतपुर महानगरको प्रमुख पदमा पार्टीका केन्द्रीय सल्लाहकार देवी ज्ञवालीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

एमालेको सोमबारको बैठकले भरतपुर महानगरको प्रमुखमा केन्द्रीय सल्लाहकार ज्ञवाली र उपप्रमुखमा चितवन जिल्ला कमिटी सदस्य दिव्य आचार्यलाई उम्मेदवार बनाउने निर्णय गरेको जिल्ला उपाध्यक्ष तेजेन्द्र खड्काले जानकारी दिए।

यसअघि गत वैशाख ९ गते एमाले चितवनले प्रमुखका लागि नेताहरु विजय सुवेदी, देवी ज्ञवाली, केशवलाल श्रेष्ठ तथा उमा कार्कीको नाम केन्द्रमा पठाएको थियो ।

ज्ञवाली पार्टीका केन्द्रीय सल्लाहकार, सुवेदी प्रदेश सदस्य हुन भने श्रेष्ठ पूर्वमन्त्री भइसकेका नेता हुन । विसं २०६४ को संविधानसभा निर्वाचनमा ज्ञवाली र सुवेदी दुवैजना उम्मेदवार भएका थिए । देवी ज्ञवालीसँग विगतको उपप्रमुख बनेको अनुभव छ ।

यसअघि एमालेले चितवनको रत्ननगर नगरपालिकाको प्रमुखमा संस्थापक नगरप्रमुख नारायण वन र उपप्रमुखमा विमला दुवाडीको टुङ्गो लगाइसकेको छ ।

यस्तै, खैरहनी नगरपालिकाको प्रमुखमा पूर्वसांसद लालमणि चौधरी र उपप्रमुखमा सुनिता थपलिया, राप्तीमा प्रभा बराल र इमानसिंह लामा, कालिकामा खुमनारायण श्रेष्ठ तथा कमला भट्टराई प्रमुख र उपप्रमुख उठाउने निर्णय गरेको छ ।

यसैगरी माडी नगरपालिकामा नादरमणि पौडेल र ताराकाजी महतोलाई उम्मेदवार बनाएको जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेलले जानकारी दिए ।

यस्तै, ईच्छाकामना गाउँपालिकाको अध्यक्षमा नारायण अधिकारी र उपाध्यक्षमा जुनाराज भण्डारीलाई अध्यक्ष र उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय एमालेले गरिसकेको छ ।

नाम टुङ्गो लागेका उम्मेदवारहरु अहिले भोट माग्नमा व्यस्त छन् । माओवादी केन्द्रले भने भरतपुर महानगरमा रेणु दाहाललाई प्रमुखको उम्मेदवार छानेको छ । रासस