१५ फागुन, एजेन्सी । अमेरिकामा एउटा अनौठो घटना बाहिर आएको छ । पिटसवर्ग विश्वविद्यालयबाट बाहिरिएको यो घटना साँच्चै चक्मा दिने खालको छ । घटना के भने, एक महिलाको शरीरमा रक्सी बनिरहेको पाइएको छ ।

झट्ट सुन्दा पत्यार नलाग्न सक्छ तर यो वास्तविकता हो । डाक्टरहरुले जाँच गर्ने बेला ति महिलाको शरीरमा पिसाव बन्नुपर्ने ठाउँमा रकसी बनिरहेको पाइएको थियो । डाक्टरहरुका अनुसार ती महिलाको उमेर ६१ वर्ष छ । उनी लामो समयदेखि लिभर सिरोसिस र सुगर रोगसँग लडिरहेकी छिन् । लिभर सिरोसिस अत्यधिक मात्रामा रक्सी सेवन गर्ने मान्छेलाई धेरै हुने गर्दछ । त्यसैकारण शरीरमा रक्सी बनिरहेको डाक्टरहरु बताउँछन् ।

उनीहरु भन्छन्, ‘यस्ता घटना विरलै हुन्छन् । यो अवस्थालाई वैज्ञानिक भाषमा अटो बे्रबरी सिन्ड्रोम भनिन्छ ।’ ती महिलाको केहीदिनमै कलेजो प्रत्यारोपण गर्नुपर्ने थियो । तर डोनर नमिलेका कारण ढिलाइ भइरहेको थियो । युनिभर्सिटी अफ पिटस्वर्ग मेडिकल सेन्टरमा डाक्टरहरुले ती महिलाको थुप्रै टेष्ट गराएका थिए ।

सबैमा रिजल्ट पोजेटिभ आएपछि डाक्टरहरुले कतै ती महिलाले अहिलेपनि रक्सी खाइरहेको र त्यसलाई लुकाइरहेको त होइन भन्ने आशंका गरेको थियो । तर रगत परीक्षणमा भने त्यस्तो नदेखिएको बताइएको छ ।