१७ मंसिर, काठमाडौं । काठमाडौं, पोखरा र जनकपुरमा जारी १३औँ दक्षिण एशियाली खेलकूद (साग)को महिला फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ ।

पोखरा रंगशालाको मैदानमा भएको खेलमा श्रीलंकालाई १–० गोल अन्तरले पराजित गर्दै आयोजनक नेपालले विजयी सुरुवात गरेको हो । नेपालको जितका लागि ८८ औं मिनेटमा सरु लिम्बुले गोल गरिन् ।

महिला फुटबलमा ४ टोलीको मात्र सहभागिता रहेको छ । अन्य दुई टोलीमा भारत र माल्दिभ्स छन् । सबैले एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष २ टोलीले स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछन् ।

त्यस्तै पुछारका दुई टोलीले कास्य पदकका लागि प्रतिस्पर्धा गर्नेछन् । नेपालले आफ्नो दोस्रो खेल बिहिबार माल्दिभ्ससँग खेल्नेछ ।