१९ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुदमा नेपाली महिला फुटबल टीम फाइनलमा पुगेको छ । पोखरा रंगशालामा भएको खेलमा सावित्रा भण्डारीको ह्याट्रिकमा माल्दिभ्सलाई ३–० हराएसँगै नेपाल महिला फुटबलको फाइनलमा पुगेको हो ।

खेलको १८ औं मिनेटमा पहिलो गोल गर्दै सावित्राले अनु लामाको सर्वाधिक गोलको रेकर्डलाई तोडेकी थिइन् । त्यसपछि उनैले २२ औं मिनेटमा दोस्रो गोल गर्दै नेपालको अग्रता २–० मा पुर्‍याइन् । पहिलो हाफमा २ गोलको अग्रता बनाएको नेपालले दोस्रो हाफमा एक गोल थप्यो । सावित्राले इन्जुरी समयको पहिलो मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै ह्याट्रिक पूरा गरिन् भने टिमलाइ तीन–शुन्यको जित दिलाइन् ।

फाइनलमा पुगेको नेपालले अब उपाधिका लागि भारतसँग सोमबार भिड्दैछ । त्यसअघि नेपालले राउण्ड रोबिन लिगको अन्तिम खेल शनिबार भारतसँग नै भिड्दैछ । भारतले यसअघि नै फाइनलमा स्थान पक्का गरिसकेको छ । नेपाली महिला फुटबल टीम तेश्रोपटक फाइनलमा पुगेको छ । यसअघि फाइनलमा पुगेका दुई खेल नेपालले भारतसँग नै भिडेको थियो ।

यसअघि महिला भलिबलमा पनि नेपालले स्वर्णको लागि भारतसँग नै भिडेको थियो । उक्त खेलमा नेपाल भारतसँग ३–२ को सेटमा पराजित भएको थियो ।