२५ फागुन, एजेन्सी । आइसीसी महिला विश्वकप टि ट्वेन्टी क्रिकेटको उपाधि अष्ट्रेलियाले जितेको छ । मेलवर्नमा भएको फाइनल खेलमा अष्ट्रेलियाले भारतलाई ८५ रनले पराजित गर्दै पाँचौपटक उपाधि जितेको हो ।

घरेलु मैदानको फाइदा उठाउँदै आक्रामक रुपमा खेलेका अष्ट्रेलियन खेलाडीले पहिला ब्याटिङ गर्दै भारतलाई १ सय ८५ रनको चुनौति दिएको थियो । अष्ट्रृलियाले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ८४ रन बनाएको थियो । उसका लागि बेथ मुनीले सर्वाधिक नटआउट ७८ रनको योगदान गरिन् । अल्यास्या हेलीले ७५ र कप्तान मेग लानिङले १६ रन बनाइन् ।

जवाफी ब्याटिङमा आएको भारत ५ बल बाँकी छँदै ९९ रनमा अलआउट हुन पुग्यो । दिप्ती शर्माले सर्वाधिक ३३, भिदा कृष्णमुर्थीले १९, रिचा घोषले १८ रनको योगदान गरिने भने अरु खेलाडीले खासै रन बनाउन सकेनन् । भारतलाई सस्तैमा समेट्न अष्ट्रेलियाकी मेगान स्कटले ४ र जेस जोनासेनले ३ विकेट खसालिन् ।