९ फागुन, काठमाडौं । महिला विश्वकप टि ट्वेन्टी क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा डिफेण्डिङ च्याम्पियन अष्ट्रेलिया भारतसँग पराजित भएको छ ।

सिड्नीमा भएको खेलमा भारतले घरेलु टोली अष्ट्रेलियालाई १७ रनले हराएको हो । विश्वकपमा भारतले लगातार तेस्रोपटक उद्घाटन खेल जितेको हो । भारतले सन् २०१८मा भएको आफ्नो पहिलो खेलमा भारतले न्यूजिल्याण्डलाई ३४ रनले हराएको थियो ।

आजको खेलमा भारतका लागि दिप्ती शर्माले ४९ रनको योगदान गरिन् । टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ३२ रन बनायो । १ सय ३३ रनको बिजय लक्ष्य पछ्याएको अष्ट्रेलिया एक बल बाँकी छँदै १ सय १५ रनमा अलआउट भयो । अष्ट्रेलियालाई सस्तैमा समेट्न पुनम यादवले ४ र सिखा पाण्डेले ३ विकेट लिए ।

भारतका लागि दिप्ती शर्माले नटआउट ४९ रन बनाइन् । शफालि बर्माले १५ बलमा २९ रन बनाउँदा जेमिमा रोड्रिग्वेज २६ रन बनाएर आउट भइन् । अष्ट्रेलियाकी जेस जोनासेनले २, इल्यास पेरी र डेलिसा किम्मिन्सले एक÷एक विकेट खसाले । मार्च ८ सम्म चल्ने प्रतियोगितामा १० वटा टिम सहभागी छन् ।