२४ साउन, काठमाडौं । भुटानमा आयोजना हुने महिला साफ यु–१५ (पन्ध्र वर्षमुनि) को फुटबल च्याम्पियनसीपमा पहिलो खेल नेपालले भारतको सामना गर्ने भएको छ ।

दक्षिण एशियाली फुटबल महासङ्घ (साफ)ले आज सार्वजनिक गरेको खेल तालिकामा नेपालले पहिलो प्रतिद्वन्दी भारत पाएको हो । प्रतियोगिता आगामी असोज २२ देखि २८ गतेसम्म हुनेछ । भुटानको थिम्पुस्थित चाङलिमिथाङ रङ्गशालामा हुने उक्त प्रतियोगितामा नेपालले आगामी असोज २२ गते भारतको सामना गर्नेछ ।

त्यस्तै नेपालले असोज २४ गते बङ्गलादेशसँग खेल्नेछ भने असोज २६ गते आयोजक भुटानसँग खेल्नेछ । लिग चरणको खेल समाप्तिपछि शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । भुटानमा नै भएको गत संस्करण खेलमा नेपाल चौथो भएको थियो ।