“यिनीहरूको मनसाय त अर्कै पो रहेछ!”

-कुशल श्रेष्ठ

सुरु-सुरुमा कम्प्युटर चलाउँदा त्यहाँ भएका ‘सोलिटेयर’, ‘माइनस्वीपर’, ‘हर्ट्स’ र ‘फ्रिसेल’ खेल्नुभएको थियो भने, ती गेमहरू खेल्दा कत्तिको मज्जा आउँथ्यो भनेर भनिराख्नु नपर्ला। माइक्रोसफ्टका यी साधारण खेलहरूले धेरै मानिसहरूको मन जित्न सफल भएका छन्। यी खेलहरूमध्येमा तपाईँको मनपर्ने खेल जुन भएपनि, त्यो खेलमा कम्प्युटरलाई जित्ने, अलिकति भएपनि धेरै स्कोर ल्याउने अठोट सबैमा हुन्थ्यो।

तर खासमा भन्ने हो भने, यो खेल्दा जति मज्जा भएपनि, यी खेलहरू मनोरञ्जनको लागि भने पक्कै पनि बनाइएको होइन।Solitaire

चार खेल मध्ये सबैभन्दा पुरानो, ‘माइक्रोसफ्ट सोलिटेयर’, सन् १९९० ताका ‘विन्डोज ३.०’ मा पहिलोचोटी राखिएको थियो। तर वास्तवमा यो खेलको विकास सन् १७०० ताका नै भैसकेको थियो। माइक्रोसफ्टले यसलाई डिजिटल रूपमा मात्र ल्याएको हो, जसले धेरै मानिसहरूको मन जित्न सफल भएको थियो। तर यो खेलको मनसाय त्यो थिएन, यसको मूल उद्देश्य त मामूली नै थियो- माउसलाई छिटो र छरितो ढङ्गले चलाउन सिकाउनु।

तपाईँहरूलाई थाहा नै होला, सोलिटेयर खेल्दा एउटा तासलाई समातेर अर्को ठाउँमा लगेर राख्नुपर्छ। यसो गर्दा माउसलाई ‘क्लिक’ (Click), ‘ड्र्याग’ (Drag) र ‘ड्रप’ (Drop) गर्नुपर्ने हुन्छ, तर खेल्ने मानिसहरूलाई यो कुराको कुनै ज्ञान हुँदैन। उनीहरूले थाहै नपाई माउस चलाउने यी तरिकाहरू सिकिरहेका हुन्थे। अहिले कम्प्युटर चलाउँदा हामीले माउसलाई धेरै तरिकाले चलाउन सक्छौँ, यसको मतलब ती खेलहरूको उद्देश्य सफल भएछ भन्न सकिन्छ।

‘माइनस्वीपर’को पनि प्राविधिक संस्कृतिमा उत्तिकै मूख्य भूमीका रहेको छ। सन् १९६० र १९७० को बीचतिर ‘जेरिम्याक राटलिफ’ नाम गरेका व्यक्तिले यो खेलको विकास गरेका थिए, जसको नाम ‘क्युब’ थियो र यो धेरै नै प्रचलित भएको थियो। लगभग २ दशक पछि, माइक्रोसफ्टले विन्डोज ३.१ मा यसैलाई ‘माइनस्वीपर’ नाम दिएर समावेश गरेको थियो। माउसको ‘लेफ्ट क्लिक’ (Left Click) र ‘राइट क्लिक’ (Right Click) सिकाउनको लागि माइक्रोसफ्टले यो खेललाई आफ्नो अपरेटिङ्ग सिस्टममा राखेको थियो। साथै माउस छिटो र सहि तरिकाले चलाउनको लागि पनि यसले धेरै नै मद्दत पुर्याउने गर्दछ।Minesweeperयो एक संयोग मात्र हैन भनेर प्रमाण चाहिन्छ भने, माइक्रोसफ्टकै अर्को तासको गेमलाई हेर्नुहोस्- ‘हर्ट्स’। यो खेललाई सन् १९९२ मा ‘विन्डोज फर वर्कग्रुप्स ३.१’ (windows for workgroups 3.1) मा समावेश गरिएको थियो। यसमा माइक्रोसफ्टको नयाँ ‘नेट डिडिई’ (NetDDE) प्रविधिको प्रयोग गरिएको थियो, जसले लोकल नेटवर्कमा भएका अरू कम्प्युटरमा ‘हर्ट्स’ गेम चलाइरहेका मानिसहरूसँग सञ्चार गर्न मद्दत गर्दथ्यो। फेरि पनि, यो एक तासको खेल मात्रै थिएन, यो त मानिसहरूलाई यसको नेटवर्किङ्ग सिस्टममा चासो देखाउने माध्यम थियो।Hearts

अन्ततः ‘फ्रिसेल’, विन्डोज ३.१ को लागि रिलिज गरिएको खेल हो। यो खेल ‘विन ३२’ (Win32) को प्याकेजसँग समेटिएको हुन्थ्यो जसले ‘१६-बिट विन्डोज ३.१’ (16-bit windows 3.1) मा ३२-बिटका प्रोग्रामहरू चलाउन मद्दत गर्दथ्यो। यसको मूख्य उद्देश्य भनेको ३२-बिटको सिस्टमलाई परीक्षण गर्नु हो। त्यसैले, अझसम्म तपाईँले जसलाई खेलको रूपमा सोच्नुहुन्थ्यो, त्यो त केवल सिस्टम परीक्षण गर्ने सफ्ट्वेयर मात्र रहेछ।FreeCell

तर, यी सबै तथ्यहरूले यो कुराको उत्तर दिँदैन कि, आफ्नो उद्देश्य पुरा गरेर पनि मानिसहरूले किन खेलिरहे? यसको उत्तर सजिलो छ- मानिसहरूले यी खेलहरूलाई असाध्यै रुचाए। जब-जब माइक्रोसफ्टले यी खेलहरूलाई हटाउन खोज्थ्यो, तब-तब मानिसहरू पागल हुन थाल्दथ्यो। पछि, सन् २०१२ मा माइक्रोसफ्टले विन्डोज ८ मा कुनै पनि खेलहरू राखेन, ग्राहकहरूले यी खेलहरूलाई छुट्टै डाउनलोड गर्न पाउँथे, तर त्यसको लागि पैसा तिर्नुपर्ने हुन्थ्यो। तथापी, यो वर्षको ‘विन्डोज १०’ को रिलिजसँगै माइक्रोसफ्टले ‘सोलिटेयर’ खेल चाहिँ समावेश गरेको छ।