अछाम, २५ जेठ । माथिल्लो कर्णाली जलविद्युत आयोजनाको कार्यालयमा बम बिस्फोट भएको छ । अछामको तुर्माखाद गाउँपालिका ३ भैरवस्थानमा रहेको सम्पर्क कार्यालयमा शनिबार प्रेसर कुकर बम बिस्फोट भएको हो ।

आयोजनाले स्थानीय दिपक बिसिको घर भाडामा लिएर कार्यालय संचालन गरेको स्थानमा बिस्फोट भएको हो । बिस्फोटबाट ढुङ्गा माटोले बनेको घर र नजिकै रहेको शौचालय भत्किएको छ भने एउटा मोटरसाईकलमा समेत आगजनी भएको अछाम प्रहरी प्रमुख डिएसपी जनक शाहीले जानकारी दिए ।

उनका अनुसार घटनाको अनुसन्धान भईरहेको छ । घटनामा संलग्न समुहको खोजिका लागि प्रहरी परिचालन गरिएको डिएसपी शाहीले बताए । बिस्फोट कसले र किन गराएको भन्ने केही नखुलेको प्रहरीले जनाएको छ ।