भीमदत्तनगर, १९ जेठ । नेपाल प्रहरीसित समन्वय नगरी अपहरणको शैलीमा नेपाली नागरिकलाई पक्राउ गरी भारत लैजाँदै गरेको अवस्थामा डोटीबाट पक्राउ परेको भारतीय प्रहरीको टोलीलाई आज छोडिएको छ ।

भारतको कर्णाटक राज्यबाट आएको प्रहरी नायव उपरीक्षक नागराजसहितको टोलीलाई आज कञ्चनपुर प्रहरीले सीमावर्ती भारतीय बजार वनवासा थानाका प्रहरी नायब निरीक्षक राजेश पाण्डेयको जिम्मा लगाएको छ ।

नागराजसहितको पाँचजना भारतीय प्रहरी टोली कञ्चनपुरकै गड्डाचौकी नाका प्रयोग गरी बुधबार राति डोटीको दिपायल–सिलगढी नगरपालिका–८ लडागडा पुगेको थियो ।

स्थानीयवासी लालबहादुर आउजीलाई अपहरणको शैलीमा पक्राउ गरी बुधबार राति नै जिपमा राखेर महेन्द्रनगर फर्कने क्रममा जिल्ला प्रहरी कार्यालय, डोटीको टोलीले भारतीय प्रहरीलाई नियन्त्रणमा लिएको हो ।

आउजीलाई राति घरबाट पक्राउ गरी कुटपिटसमेत गरिएको थियो । कुटपिटका क्रममा स्थानीयवासीले त्यसको प्रतिवादसमेत गरेका थिए । तर उनीहरुले आउजीलाई छुटाउन भने सकेनन् ।

सन् २०१६ सेप्टेम्बरमा भारतको कर्णाटकमा बैंक अफ महाराष्ट्रबाट १४ लाख भारतीय रुपैयाँ चोरी भएको र सो घटनामा लालबहादुरको संलग्नता रहेको भन्दै उनको खोजी गर्ने क्रममा भारतीय प्रहरी टोली डोटी पुगेको बताइएको छ ।

भारतको कर्णाटकमा मजदुरी गर्दै आएका दिपायल सिलगढी नगरपालिका– ८ का भाने पार्की, गणेश पार्की, डिल्ली पार्की, लाले पार्की, सुर्जे पार्की र प्रसाद पार्कीलगायतलाई भारतीय प्रहरीले पक्राउ गरेको उनीहरुको पारिवारिक स्रोतले जानकारी दिएको छ । पक्राउ गरिएका प्रसाद पार्कीलाई साथमा लिई भारतीय प्रहरी टोली डोटी पुगेको थियो । पार्कीकै सहयोगमा भारतीय प्रहरीले आउजीको घर पत्ता लगाउन सकेको हो ।

सुदूरपश्चिम क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक रोमेन्द्रसिंह देउजाले पक्राउ परेका भारतीय प्रहरी दक्षिण भारतको कर्णाटकबाट आएका बताए। “भारतीय प्रहरीले समन्वय गर्नेबारे आफूहरुलाई थाहा नभएको भन्दै माफी मागे,” देउजाले भने – “अब आउँदा नेपाल प्रहरीसित समन्वय गर्छौं भनेका छन् ।” आउजी र पार्कीका विषयमा छानबिन भइरहेको उनले बताए।

यसअघि २०७३ वैशाख १२ गते डोटी र अछामको सिमानामा पर्ने चौखुट्टेबाट पाँचजना भारतीय प्रहरी हतियारसहित पक्राउ परेका थिए । भारतीय प्रहरी हतियारसहित कञ्चनपुरको गड्डाचौकी नाका भएर डोटी पुगेको थियो । रासस