काठमाडौं, ३० जेठ । मालपोत कार्यालय बाँकेका तत्कालीन प्रमुख मालपोत अधिकृतसहित २८ जनालाई भ्रष्टाचारको मुद्दा दर्ता गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरु विरुद्ध बिहीबार विशेष अदालत काठमाण्डौंमा आरोपपत्र दायर गरेको हो । सरकारी र सार्वजनीक जग्गा व्यक्तिको नाममा दर्ता गर्ने कार्यमा संलग्न रहेको आरोपमा उनीहरुमाथि मुद्दा चलाइएको अख्तियारले जनाएको छ ।

अख्तियारले तत्कालीन मालपोत अधिकृत दीर्घबहादुर पोख्रेल, मालपोत अधिकृतहरु पुष्पा श्रेष्ठ, हेमराज शर्मा र अशोक कुमार भट्टराई, नायव सुब्बाहरु रुद्र बहादुर देवकोटा, टंक प्रसाद शर्मा, राम बहादुर खड्का र मान बहादुर के.सी. कम्प्यूटर अपरेटर यज्ञश्वर वली विरुद्ध आरोपपत्र दायर गरेको हो ।

यस्तैगरी करारमा रहेका सहायक कम्प्यूटर अपरेटर प्रेम बहादुर चन्द ठकुरी, खरिदारहरु सुशिल रिजाल, संजय कुमार ठाकुर, कुलानन्द राउत र कार्यालय सहयोगी अन्तराम चौधरी विरुद्ध पनि मुद्दा दायर गरिएको छ । उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा (१) बमोजिम सजायको माग दाबी गदै आरोपपत्र दायर भएको छ । (मुद्दा चलाइएकाकाे नामावली र विगाेदाबी)