५ चैत, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा नेताहरु मास्क लगाएर सहभागी भएका छन् ।

पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले हालै मिर्गौला प्रत्यारोपण गरेकाले संक्रमण हुनसक्ने र संभावित कोरोनाको जोखिम न्यूनीकरणका लागि नेताहरुले मास्क लगाएका हुन् । बैठकले मिर्गौला सफल प्रत्यारोपणका लागि प्रधानमन्त्रीलाई बधाई, चिकित्सकहरु र मृगौलादातालाई धन्यवाद दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

बैठकले कोरोना संक्रमणको संभावित जोखिमलाई मध्यनजर गरी एसइई परीक्षा रोक्नेलगायत उपप्रधानमन्त्री इश्वर पोख्रेल नेतृत्वको उच्चस्तरीय समितिको निर्णयको प्रशंसा गरेको छ । समितिको बैठकले एसइइ परीक्षा केन्द्रमा हेल्थ डेस्क राखेर परीक्षा संचालन गर्ने निर्णय गरेपनि सचिवालय बैठकले एसइइ रोक्न सुझाव दिएपछि परीक्षा रोकिएको हो ।