४ कात्तिक, काठमाडौं । हास्यटेलिश्रृंखला ‘सक्किगोनी’ विरुद्ध प्रहरीमा कपीराइटसम्बन्धी उजुरी परेको छ । आइतबार प्रहरी कार्यालयमा आफ्नो टेलिसिरियल भद्रगोलका क्यारेक्टरहरु आफ्नो अधिकार भएको भन्दै मिडिया हबका सञ्चालक सोम धितालले प्रहरीमा उजुरी गरेका थिए । उजुरी पछि छलफलका लागि भन्दै कुमार कट्टेल जिग्री र अर्जुन घिमिरे पाँडेलाई महानगरी प्रहरी परिसर टेकुमा बोलाइयो ।

जिग्री र पाँडेले आफूहरुसँग भएको सम्झौताको १३ नम्बर बुँदामा भद्रगोलका कन्टेन्ट र क्यारेक्टरहरुमा दाश्रो पक्ष यानिका जिग्री पाँडे टीममा नीतिह रहेको देखाइसकेका छन् । यसरी विवादमा आइरहँदा सोमबार सक्किगोनीको टीम नेपाल प्रतिलिपी अधिकार रजिस्ट्रारको कार्यालय पुगे । कुमारले मिडिया हबले दिनुपर्ने पारिश्रमिक अझैपनि नदिएको बताएका छन् । उनका अनुसार असार महिना सहितको ४ देखि ५ वटा भागको पारिश्रमिक गरी ६ देखि ८ लाख रुपैयाँ जति पाउन बाँकी छ । त्यहाँ रहेका कुमार कट्टेला जिग्रीको पछिल्लो २४ घण्टा कस्तो भयो त ? यसो भन्छन् उनीः

मेरो जीवनकाल आजसम्म प्रहरी चौकीमा जाने, प्रहरीले बोलाएर जाने लगायतका कामहरु गर्नुपरेकै थिएन । म मेरो पेशाप्रति इमान्दार भएर काम गरिरहँदा मैले कतै केही बिगारेको पनि छैन । न मैले अरुको नक्कल गरेको छु, न अरु कुनै सिरियलबाट चोरेर ल्याएको छु । मैले मेरै काम गरिरहँदा उजुरी पर्यो । यति हुँदै गर्दा पनि म मिडिया हबका प्रवन्ध निर्देशक आदरणीय सोम धिताल सरप्रति एकदमै सम्मान व्यक्त गरेर बोल्न चाहान्छु । तपाईंप्रति बहुत सम्मान छ । तपाईंको संस्थामा बसेर काम गर्दा तपाईंबाट पाएको प्लेटफर्मले आज म नेपालमा बसेर कलाकारिता गर्न पाइरहेको छु ।

तपाईं जस्तो व्यक्तिबाट यो अपेक्षा पनि गर्दिन । किन भयो भन्नेकुराको समिक्षा पनि तपाईं आफैँ गर्नुहोला । यदि तपाईं साच्चै बुभ्ने क्षमता र मानवीयता छ भने यो उजुरी पनि फिर्ता लिनुहुन्छ होला भन्ने मेरो अपेक्षा हो । म सक्किगोनीको स्क्रिप्ट लेखिरहेको थिएँ, आज हाम्रो सुटिङ थियो । एक्कासी फोन आइसकेपछि किन, कसो के भन्ने कुराकानी भयो । हामीले मिडियाहबसँग सम्झौता गरेको र वौद्धिक सम्पति सर्जकको हुन्छौं भनेर कानुनमा लेखिएको छ भने आज म प्रताडित हुनु भनेको सिंगो नेपाली कला संस्कृति र कलाकारहरुले दुःख पाउनु हो भन्ने मेरो अनुभूति हो ।

त्यसपछि प्रहरीकोमा गइयो, सबै कुरा हेरियो । उजुरी परेको कारण हामीले फेस गर्नुपर्यो । मिडियाहरुमा पनि न्यूजहरु आइसकेको थियो । मैले आज जे गरिरहेको छु, त्यो सबै दर्शकहरुको अुनरोध र साथको कारण गरिरहेको हो । दर्शकहरुले जसरी आउनुपर्छ, नयाँ केही गर्नुपर्छ भनेर साथ दिएको कारण मेरो जिम्मेवारी अझै बढेको छ । सबै दर्शकहरुबाट सकारात्मक सहानुभूति पाएको छु । उहाँहरुले कलाकारले कलाकारिता गर्नैै नहुने हो र भन्दै सकारात्मक सन्देश दिनुभएको छ । यस्तै अग्रज कलाकार, मिडियाहरुबाट पनि सकारात्मक सहानुभूति प्राप्त भयो । अब शुक्रबार दुवै पक्षलाई राखेर शुक्रबार प्रहरी परिसर टेकुमा छलफल गरिने छ ।