३ वैशाख, बागलुङ ।

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तहको चुनाव केही दिनपछि सारेर भए पनि एकै चरणमा गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपाल प्रेस युनियन बागलुङ शाखाले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा उनले मधेसी मोर्चालाई सहमतिमा ल्याउनका लागि चुनावको मिति सार्न सकिने सङ्केत गर्नुभएको हो । “बरु पाँच दिनपछि सारौँ तर चुनाव एकै चरणमा गर्नुपर्छ”, वरिष्ठ नेता पौडेलले भने ।

दुई–दुई पटक संविधान संशोधन प्रस्ताव ल्याउँदा पनि मेधसी मोर्चाले नयाँ–नयाँ माग थप्दै राजनीतिक अड्चन सिर्जना गरेको उनको आरोप थियो ।

“सरकारले मोर्चासँग सल्लाह गरेरै संशोधन प्रस्ताव ल्याएको हो”, नेता पौडेलले भने, “उहाँहरु प्रस्ताव ल्याएकै दिन आन्दोलन र चुनाव बहिष्कारको घोषणा गर्नुहुन्छ, मोर्चा कतै चुनाव हुन नदिने पक्षमा त छैन भन्ने आशङ्का उब्जेको छ ।” चुनावद्वारा मुलुकलाई अघि नबढाए मुलुक गम्भीर सङ्कटमा फस्ने उनको भनाइ छ ।

मधेसी मोर्चाका मागप्रति नेपाली काँगेस संवेदनशील रहेपनि प्रमुख तीन दल र मधेसी मोर्चाबीच खुला छलफल हुनुपर्ने नेता पौडेलले बताए । रासस