२० जेठ, हेटौंडा।

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल एक हप्ताका लागि अस्पताल भर्ना भएका छन् । नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल गएका पौडेललाई अस्पतालले एक हप्ताका लागि भर्ना गरेको हो ।

मुख्यमन्त्री पौडेल मुटुको नियमित परीक्षणका लागि काठमाडौँको शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा आइतबारबाट भर्ना भएका हुन । ७३ वर्षीय पौडेल प्रदेशसभा सदस्य मध्ये ज्येष्ठ हुन । निक्कै नै सक्रिय दैनिकी भएका पौडेल बुढ्यौली, उच्च रक्त चाप तथा मधुमेहका बाबजुद पनि दैनिक १८ घण्टासम्म क्रियाशील रहने जनाइएको छ । उनको यसअघि हेटौँडाको सामुदायिक आँखा अस्पतालमा आँखाको मोतीया बिन्दुको शल्यक्रिया गरिएको थियो ।

पौडेलको गङ्गालाल हृदय रोग निवारण केन्द्रका विशेषज्ञ चिकित्सकको टोलीले स्वास्थ्य जाँच गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । अस्पतालका चिकित्सकका अनुसार मुख्यमन्त्रीले एक हप्ता आराम गर्नुपर्ने छ । अस्पताल भर्ना भएसँगै एक हप्ताका लागि मुख्यमन्त्रीको सार्वजनिक कार्यक्रम स्थगित गरिएको मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए। मुख्यमन्त्री पौडेल अस्पताल भर्ना भएपछि यही जेठ २४ र २५ गते हेटौँडामा हुन गइरहेको प्रदेश समन्वय परिषद्को बैठकसमेत प्रभावित हुने भएको छ ।