२१ चैत, काठमाडौं । सुख्खा पहिरो झरेर अवरुद्ध भएको मुग्लिन नारायणगढ सडक सूचारु भएको छ ।

विहान साढे १० बजेदेखि अवरुद्ध भएको सडक पहिरो पन्छाएर दिउँसो ३ बजेदेखि सूचारु भएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए ।

उनका अनुसार पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । मृत्यु हुनेमा ना ४ ख ५४११ नम्बरको ट्याङ्करका सहचालक बनु पटेल र बा १० प ४८४४ नम्बरको मोटरसाइकलका चालक लमजुङ सुन्दरबजारका सन्दिप राना रहेका प्रहरी उपरीक्षक थापाले बताए ।

पहिरोमा पुरिएका पाँच सवारी मध्ये एउटा ट्याङ्कर र एउटा मोटरसाइकल पूर्ण रुपमा क्षतिग्रस्त भएको छ भने तीन वटा सवारीमा सामान्य क्षति पुगेको उनको भनाई छ । पुरिएका सबै सवारी मुग्लिनबाट नारायण्गढतर्फ जाँदै गरेका प्रहरीले जनाएको छ ।

 भरतपुर महानगरपालिका २९ कविलास, घुमाउनेमा विहान ठूला ठूला ढुंगासहित सुख्खा पहिरो गएको थियो ।