१७ भदौ,धुलिखेल । सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले मुलुकलाई अग्रगामी निकास दिन सबै एक ढिक्का हुनुपर्ने बताएका छन् ।

आज काभ्रेपलाञ्चोकको बनेपामा बेलर इन्टरनेशनल एकेडेमीले आयोजना गरेको विद्यालयका विद्यार्थीलाई स्वागत तथा विदाई कार्यक्रममा मन्त्री बस्नेतले अब मुलुक बन्नका लागि आ–आफ्नो ठाउँमा भएका राजनीतिक र अन्य विचारलाई एक ठाउँमा थाती राखेर सिङ्गो राष्ट्र बनाउन सबैैजना एक ठाउँमा आउन आवश्यक रहेको बताए ।

उनले सबै वर्ग, समुदाय र राजनीतिक पार्टीहरु एक ठाउँमा उभिन सक्यौँ भने मात्रै मुलुकमा भएका स्रोत र साधनहरुलाई परिचालन गर्दै दुई ठूला आर्थिक सम्पन्न देशको बीचमा रहेको नेपाल समृद्ध बनाउन सक्ने उल्लेख गरे ।

लामो समयदेखि संक्रमणकालीन अवस्थामा गुज्रिरहेको मुलुक अब राजनीतिक अन्यौल र खिचातानीमा नअल्मलिइकन आर्थिक र राजनीतिक निकास पाउने खालको बातावरण बनाउन सबै लाग्नुपर्नेमा उनले जोड दिए ।

मन्त्री बस्नेतले संविधानमा राज्यका सबै वर्ग, तप्का र क्षेत्रका नागरिकले अपनत्व महशुस गरुन् भन्नका खातिर सरकारले स्थानीय निर्वाचनमा पहिला र दोस्रो चरणमा भाग नलिएका राजनीतिक दलहरुलाई पनि समेट्न प्रयास गरेको बताए ।

आगामी दिनमा त्यो पार्टी, यो पार्टी, त्यो विचार यो विचार नभनीकन चुनाव कुन पार्टीले जित्छ भनेर सोच्नुभन्दा पनि यो देशको लोकतान्त्रिक शासन पद्धति, संघीयता र समावेशिता अर्थात नेपाल र नेपालीले जित्नुपर्दछ भन्ने दृष्टिकाणले सबै लाग्न आवश्यक रहेको उनको भनाइ थियो ।

मन्त्री बस्नेतले राजनीतिक हिसाबले मात्रै नभई कुटनीतिक हिसाबले पनि छिमेकी देशहरुको पनि सहयोग लिएर देशको भूभागलाई कसैको इच्छामा चल्न नदिएर हाम्रो राष्ट्रिय इच्छालाई स्थापित गर्नतर्फ लाग्नुपर्ने बताए ।  रासस