४ भदौ, एजेन्सी । चीनको दक्षिण पश्चिमी क्षेत्रमा आएको मुसलधारे वर्षाका कारण कम्तीमा आठ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार घटनामा परी अरु २६ जना अझै बेपत्ता रहेकाले खोजी कार्य जारी छ ।

देशको दक्षिण पश्चिमी क्षेत्रमा पर्ने सिचुवान प्रान्त र अबा तिब्बती तथा क्विङ स्वायत्त क्षेत्रमा मङ्गलबार मुसलधारे वर्षा भएको अधिकारीहरुले जनाएका छन् । बुधबार मध्याह्नमा पनि अत्यधिक वर्षा भएपछि सिर्जित प्राकृतिक प्रकोपबाट अरु छ जना घाइते भएका छन् भने एक लाखभन्दा बढी विस्थापित भएका छन् ।

विस्थापित भएकाहरुलाई आधारभूत सेवा सुविधाको व्यवस्थापन अत्यावश्यक भएको उद्धारकर्ताहरुले जनाएका छन् । प्रान्तीय आपत्कालीन व्यवस्थापन निकायले विस्थापित भएकाहरुलाई हेलिकोप्टरबाट खानालगायतका अत्यावश्यक वस्तुहरु पुर्‍याउँदै गरेको जनाएको छ ।

अत्यधिक वर्षाले ३४ हजारभन्दा बढी पर्यटकहरु पनि विस्थापित हुनु परेको छ । उनीहरु वेन्चाउ क्षेत्रमा अल्पत्र परेका हुन् । तीमध्ये १३ हजारभन्दा बढी पर्यटक त बाटोमै परेको अधिकारीहरुको भनाइ छ । स्थानीय अधिकारीहरुले अप्ठ्यारोमा परेका पर्यटकहरुको उद्धार तथा व्यवस्थापनका लागि विषेश पहल गरिरहेको जनाएका छन् । अत्यधिक वर्षाका कारण प्रभावित क्षेत्रमा खोजी तथा उद्धार र राहत वितरण कार्य जारी रहेको समाचारमा जनाइएको छ । रासस/सिन्ह्वा