१९ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन् ।

राजधनीको महाराजगञ्जस्थित शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओली केहीबेरअघि डिस्चार्ज भएका छन् । महाराजगञ्जबाट प्रधानमन्त्री ओली केहीबेरअघि बालुवाटारस्थित निवासतर्फ लागेका हुन् ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रपति विद्यादेवी भण्डारी अस्पतालमा पुगेकी थिइन् । राष्ट्रपति भण्डारीले ओलीसँग २५ मिनेट भेटघाट गरेकी थिइन् । अस्पतालबाट बाहिरिँदै गर्दा प्रधानमन्त्री ओलीले आफू स्वस्थ भएर फर्किएको प्रतिक्रिया दिए । चिकित्सक डा. अरुण शायमीले प्रधानमन्त्रीको एपेन्डिक्सको उपचार सफल भएको बताए ।

यस्तै अस्पतालबाट जारी विज्ञप्तिमा प्रधानमन्त्री ओलीलाई केहीदिन आराम गर्न सुझाव दिएर डिस्चार्ज गरिएको उल्लेख छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर उत्तम कृष्ण श्रेष्ठद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्रीको उपचारको संलग्न डाक्टर, नर्सहरुलाई धन्यवाद पनि दिइएको छ ।

प्रधानमन्त्री अघिल्लो साता मंगलबार अचानक पेट दुख्न थालेपछि अस्पताल भर्ना भएका थिए । सोही दिन उनको एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो । अप्रेसन पश्चात पेटमा अन्य संक्रमण भएकोले पनि अस्पतालमा लामो समय राख्नुपरेको प्रधानमन्त्री ओलीद्वार अस्पतालबाटै जारी भिडियोमा पनि उल्लेख गरिएको छ ।