megha and bagmati१३ फागुन, काठमाडौ । मेगा बैंक नेपाल लिमिटेड औषधि व्यवसायीहरुको छाता संगठन नेपाल औषधि व्यवसायी संघ (एनसीडीए) बागमती अञ्चल शाखाको साझेदार बैंक बनेको छ ।
आज राजधानीमा विशेष समारोहका बीच मेगा बैंक नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र नेपाल औषधि व्यवसायी संघ, बागमती अञ्चल शाखाका अध्यक्ष रामेश्वर श्रेष्ठले संयुक्त रुपमा सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । साझेदार बैंक बनेपछि मेगा बैंकले आफ्ना बचत तथा ऋण योजनामा संघका सदस्यहरुलाई विशेष प्राथमिकता र सुविधा प्रदान गर्नेछ । यसैगरी, साना मझौला व्यवसाय SME तथा उपभोक्ता कर्जा लिन चाहेमा मेगा बैंकले सहुलियत ब्याजदरमा उपलब्ध गराउने सहमति भएको छ । यो सम्झौता सुरुमा मध्यमाञ्चलका औषधि व्यवसायीलाई लागू हुनेछ, आगामी दिनमा अन्य क्षेत्रका औषधी व्यवसायीलाई पनि समेटिनेछ ।
‘चालू आर्थिक बर्षलाई मेगा बैंकले एसएमई बर्षको रुपमा मनाइरहेको छ, हाम्रो सम्पूर्ण ध्यान नै साना तथा मझौला व्यवसायमा केन्द्रित रहेका बेला औषधी व्यवसायी संघसँग सहकार्य गर्न पाउँदा मेगा टिम हषिर्त छ, देशभर छरिएका साना तथा मझौला औषधि व्यवसायीलाई सहज रुपमा वित्तीय सेवा पुर्‍याउन यो सम्झौताले मद्दत मिल्नेछ,’ मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह भन्छन्, ‘औषधि व्यवसायीका साना साना बचत, ऋण तथा एलसीका लागि हामी विशेष सहुलियत दिन्छौं, व्यवसायीहरुलाई व्यक्तिगत रुपमा भन्दा संस्थागत रुपमा आउँदा विशेष सहुलियत मिल्ने भएकाले यो सम्झौता गरिएको हो ।’ मेगा बैंकले संघले गर्ने सामाजिक कार्यमा पनि सहयोग गर्नेछ ।
megha and bagmati‘औषधि व्यवसायी संघले बैंकसँग पहिलोपटक यसरी साझेदारी गरेको हो, यो साझेदारीबाट बागमती अञ्चल शाखाका औषधि आयातकर्ता, होलसेलर र खुद्रा गरी १२ सय औषधि व्यवसायी प्रत्यक्ष लाभान्वित हुनेछन् । कुल औषधि कारोबारको ६० प्रतिशत कारोबार बागमती अञ्चलमै केन्दि्रत छ, सहल र सरल ढंगबाट व्यवसाय प्रबर्द्धन गर्न यो सम्झौताले मद्दत मिल्नेछ ।’- औषधि व्यवसायी संघ, बागमती अञ्चल शाखाका अध्यक्ष रामेश्वर श्रेष्ठले भने ।
‘हलोदेखि हाइड्रोसम्म’ लाई मुख्य लक्ष्य बनाएको मेगा बैंकले संचालनको डेढ दुई बर्षे अवधिमै ९० हजार भन्दा बढी ग्राहकको मन जित्न सफल भएको छ । बैंकको अहिले २८ वटा शाखा सञ्जाल र देशभर व्यवसायिक प्रतिनिधि छन् ।