काठमाठौं । अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका कप्तान लियोनल मेस्सीलाई अन्तर्राष्ट्रिय फुटबल खेल्न तीन महिना प्रतिबन्ध लगाइएको छ । ‘कोपा अमेरिका भ्रष्ट’ रहेको विवादित अभिव्यक्ति दिएपछि दक्षिण अमेरिकी फुटबल महासंघले उनलाई प्रतिबन्ध लगाएको हो ।

महासंघले मेस्सीलाई ५० हजार डलर जरिवाना समेत तोकेको छ । बार्सिलोनाका फरवार्डसमेत रहेका ३२ वर्षीय मेस्सीलाई प्रतिबन्धविरुद्ध अपिल गर्न ७ दिनको समय दिइएको अन्तर्राष्ट्रिय संचारमाध्यामले जनाएका छन् । प्रतिबन्धका कारण मेस्सीले आगामी सेप्टेम्बर र अक्टोबरमा चिली, मेक्सिको र जर्मनीसँग हुने मैत्रीपूर्ण खेल गुमाउनेछन् ।

कोपा अमेरिका कप फुटबलको तेस्रो स्थानका लागि भएको प्लेअफमा मेस्सी रातो कार्ड खाँदै मैदान बाहिरिएका थिए । त्यो खेलमा अर्जेन्टिनाले चीलीलाई २–१ ले हराएको थियो । त्यसपछि मेस्सीले कोपा अमेरिकाको उपाधि ‘ब्राजिलकै लागि फिक्स’ गरिएको विवादास्पद टिप्पणी गरेपछि कारवाहीमा परेका हुन् ।

कोपा अमेरिकाको सेमिफाइनलमा अर्जेन्टिना ब्राजिलसँग २–० ले पराजित भएको थियो । दक्षिण अमेरिकी फुटबल महासंघले मेस्सीले लगाएको आरोप निराधार रहेको दाबी गरेको छ ।

तेस्रो स्थानका लागि भएको चिलीसँगको खेलमा मेस्सीले ३७ औँ मिनेटमा रातो कार्ड पाएका थिए । मेस्सीले सिनियर खेल जीवनमा पाएको यो दोस्रो रातो कार्ड थियो । उनले १४ वर्षअघि सन् २००५ मा अर्जेन्टिनाबाट डेब्यु गरेको खेलमा रातो कार्ड पाएका थिए ।