३२ साउन, दाङ । पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङको लमही नगरपालिका–९ रिहारबाट पश्चिमतर्फ गइरहेको रा १ प ११३१ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आएको ना ६ख ३४०३ नम्बरको ट्रकले ठक्कर दिँदा आज दिउँसो गम्भीर घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख बेलबहादुर पाण्डेका अनुसार मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–५ धर्नाका ४२ वर्षीय विनोद बस्नेत र नेपालगञ्ज उपमहानगरपालिका–४ कारकादो बस्ने ४५ वर्षीय रमेश बस्नेत रहेका छन् ।

विनोदको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही र रमेशको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । सवारी दुर्घटनामा संलग्न सो ट्रकलाई लमही–८ मा रहेको पाण्डेश्वर क्रसर उद्योगबाट नियन्त्रणमा लिइएको छ भने चालक हाल फरार रहेको र खोजी भइरहेको दाङ प्रहरीले जनाएको छ ।