२४ भदौ, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालीमा ट्वीट गरेका छन् । मंगलबार मोतिहारी–अमलेखगञ्ज अन्तरदेशीय पाइपलाइनको उद्घाटनपछि साँझ ट्वीटर नेपालीमा ट्वीट गर्दै भारतीय प्रधामन्त्री मोदीले आज भारत–नेपाल मित्रताको विशेष दिन भएको उल्लेद गरेका छन् ।

उनी लेख्छन्, ‘मेरा मित्र, प्रधानमन्त्री ओली र मैले संयुक्त रुपमा भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म रहेको दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पेट्रोलियम पदार्थ पाइपलाइनको उद्घाटन गर्यौं ।’ मोदीले यो परियोजना सोचेको समयभन्दा धेरै अगाडि नै सम्पन्न भएकोमा खशी व्यक्त गरेका छन् । ‘तपाईहरु खुशी हुनुहुनेछ कि यो परियोजना निर्धारित समयभन्दा धेरै अघि नै सम्पन्न भयो,’ मोदीले लेखेका छन् ।

साथै मोदीले प्रगतिको फल मित्र राष्ट्रहरुसँग बाँड्दै भन्दै सोही ट्वीटमा रिप्लाई गरेका छन् । उनले ट्वीटमा लेखेका छन्, ‘मोतिहारी–अमलेखगञ्ज पाइपलाइनले नेपालका जनतालाई सुलभ मूल्यमा अझैं सफा पेट्रोलियम पदार्थ दिनेछ । म हर्षित छु कि नेपाल र भारतबीचको सहकार्यले हाम्रा जनताको परस्पर लाभका लागि नयाँ उचाइ प्राप्त गर्दैछ ।’

भारतको मोतिहारीबाट अमलेखगञ्जसम्म बिछ्याइएको पाइप लाइन परियोजनाको नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्तरूपमा आ–आफ्नो मुलुकबाट ‘स्वीच’ थिचेर समुद्घाटन गरेका थिए ।

नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारबाट र भारतको तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट ‘भिडियो कन्फरेन्स’मार्फत एकैसाथ स्वीच थिचेर सो परियोजनाको समुद्घाटन गरेका हुन्। उद्घाटनसँगै मोतिहारीबाट अमलेखगञ्जसम्म पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ भित्रिएको छ । यो पाइपलाइन दक्षिण एशियाकै पहिलो ‘क्रस बोर्डर’ परियोजना हो ।

पहिलो चरणमा पाइप लाइनबाट डिजेल ल्याइनेछ । त्यसपछि क्रमशः पेट्रोल र मट्टितेल ल्याइनेछ । मोतिहारी–अमलेखगञ्ज पाइप लाइनको दूरी ६९।२ किलोमिटर रहेको छ । जसमा नेपालतर्फ ३६।२ र भारततर्फ ३३ किलोमिटर रहेको छ । पाइप लाइनबाट दैनिक झण्डै चार हजार किलोलिटर पेट्रोलियम पदार्थ ल्याउन सकिने परियोजनाले जनाएको छ । सो परियोजनाबाट पेट्रोलियम पदार्थ भित्रन थालेपछि वार्षिक अर्बौ ढुवानी खर्च जोगिने बताइएको छ ।

पाइप लाइनबाट पेट्रोलियम पदार्थ ल्याउँदा वार्षिक दुई अर्बभन्दा बढी ढुवानी खर्च बचत हुनेछ । पाइपलाइन सञ्चालनमा आएसँगै इन्धन ढुवानी लागतको न्यूनीकरणले पेट्रोलियम पदार्थको उपभोक्ता मूल्यसमेत घटेको छ । आजै मध्याह्नदेखि निगमले डिजेल, पेट्रोल र मट्टितेलमा प्रतिलिटर दुई–दुई रुपैयाँ घटाएको छ । देशभित्र खपत हुने डिजेलमध्ये ७० प्रतिशत अमलेखगञ्जबाट आपूर्ति हुँदै आएको निगमले जनाएको छ ।