१० साउन, काठमाडौं।

दोस्रो कार्यकालका लागि  निर्वाचित भएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पुन: नेपाल आउने करिब निश्चित भएको खबर छ। 

उनी आगामी भदौ अन्तिम साता चारदिने नेपाल भ्रमणमा आउने भएका हुन् । भ्रमणको पूर्वतयारीका लागि भारतीय सुरक्षाकर्मी र विदेश मन्त्रालयका कर्मचारी दुई महिना अगावै त्यसको तयारीमा जुटेका छन् ।

 उच्च सुरक्षा स्रोतका अनुसार भदौ ३१ देखि असोज ३ गते (सेप्टेम्बर १७ देखि २ तारिखसम्म) हुने उनको भ्रमणको तयारीका लागि साउनको पहिलो सातासम्म भारतीय सुरक्षाकर्मीको एक टोली दुईपटक काठमाडौं आएर दिल्ली फर्किसकेको छ । 

भारतीय सेनाका कर्णेलतहका अधिकारी र भारतीय कमाण्डो टोली नेपाल आएर फर्किएको बताइएका छ । उच्चस्तरीय भ्रमणका लागि आवश्यक सुरक्षा सुनिश्चितताको चासो राख्दै भारतीय सुरक्षाकर्मीले एक चरण नेपाली अधिकारीहरुसँग भेट गरेका छन् ।  

गत जेठ दोस्रो साता पुनः प्रधानमन्त्रीमा निर्वाचित भारतीय समकक्षी मोदीलाई बधाई दिदै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भ्रमणको निम्तो दिएका थिए। 

modi is coming to nepal again
भारतीय प्रधानमन्त्री मोदीसंग प्रधानमन्त्री केपी ओली । फाइल तस्विर

गत जेठ १६ गते भएको मोदीको सपथग्रहणमा सहभागी भएका  ओलीले समकक्षी मोदीलाई पुनः नेपाल भ्रमणको निम्तो दिएका थिए । भ्रमणकै क्रममा नेपाल भारत पेट्रोलियम पाइपलाईन उद्घाटनको तयारीसमेत गरिएको छ ।

 परीक्षण सम्पन्न भइसकेकाले दुवै देशका प्रधानमन्त्रीले पइपलाइन उद्घाटन गर्ने तयारी गरिएको हो ।