३ वैशाख, काठमाडौँ ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र सङ्घीय गठबन्धनले सरकारले आफ्ना माग सम्बोधन नगरी स्थानीय तहको निर्वाचन गर्न लागेको जनाउँदै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।

मोर्चा र गठबन्धनले सरकारले आफूसँग भएका सहमति र सम्झौता विपरीत संविधान संशोधन दर्ता गराएको आरोप लगाउँदै मसाल जुलुसदेखि आमहडतालसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

मोर्चा र गठबन्धनले आज यहाँ संयुक्त रुपमा पत्रकार सम्मेलन गरी मधेसी, आदिवासी जनजाति, थारू, मुसलमान, दलित, सीमान्तकृतलगायत समुदायका माग सम्बोधन गरी संविधान संशोधन गरेर मात्र निर्वाचन हुनुपर्ने माग गरेका छन् ।

गठबन्धनका संयोजक उपेन्द्र यादवले सङ्घीयता, राष्ट्रिय पहिचान, लोकतन्त्र, गणतन्त्र, समानुपातिक समावेशीकरणलगायत विगतमा प्राप्त भएका उपलब्धिको रक्षा गर्न आन्दोलनमा जान बाध्य भएको जिकिर गरे ।

संयोजक यादवले सङ्घीय संरचनालगायत विषय सम्बोधन गरी सर्वप्रथम सङ्घीय संसद् र प्रादेशिक विधायिकाको निर्वाचन गराउनुपर्ने माग गर्दै भने, “प्रदेश सरकारको मातहत स्वायत्त क्षेत्र, विशेष क्षेत्र र संरक्षित क्षेत्र, गाउँपालिका, नगरपालिकासहित स्थानीय तहको निर्वाचन गरिनुपर्दछ ।”

मोर्चा र गठबन्धनका जुलुस, आमसभा, आमहडताललगायत कार्यक्रम सार्वजनिक भएका छन् । सरकारले यही वैशाख ३१ गतेका लागि स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै निर्वाचन आयोगले निर्वाचनको तयारी अन्तिम अवस्थामा पुगेको जनाएको छ । निर्वाचनका लागि आयोगले यही वैशाख १६ गतेदेखि उम्मेदवारी दर्तालगायत कार्यक्रम तय गरेको छ ।