९ असोज, काठमाडौं ।

चितवनकी रीता (नाम परिवर्तन) चीन जाने चक्करमा काठमाडौं आइन् । चीन जान उनलाई भाषा प्रशिक्षण अनिवार्य थियो । भाषा प्रशिक्षणका लागि रीता बागबजारको एक कोरियन भाषा प्रशिक्षण केन्द्रमा पुगिन् । त्यहाँ उनीजस्ता थुप्रै युवती थिए ।

रीतालाई सोलुखुम्बुकी सम्झना (नाम परिवर्तन) ले चीन जाने छोटो बाटो बारे जानकारी दिइन् । चिनियाँ नागरिकसँग विवाह गर्ने र सजिलै चीन पुग्ने उनको सुझाव थियो । सुरुमा रीतालाई डर लाग्यो । कतै पैसा कमाउने चक्करमा शरीर नै बेच्नुपर्ने त होइन !

manab-taskar-ko-jalo

सम्झनाले रीतालाई राजधानीको चुनदेवीस्थित छेरु इन्टरनेसनल म्यारिज व्युरोको कार्यालय पुर्‍याइन् । सामान्य कुर्तासुरुवालमा पुगेकी रीतालाई ब्युरोमा पुगेलगत्तै महँगो कुर्तासुरुवाल र मोवाईल दिइयो । मिठो खाना र कोरियन भाषा सिक्नसमेत ब्युरोले नै लगानी गर्ने भएपछि उनी मख्ख परिन । रीतालाई अझ सुन्दर बनाउन ब्युरोले व्युटिपार्लर पठायो । म्यारिज ब्युरोको नाममा उक्त संस्थाले नेपाली युवतीलाई चीन र कोरिया ‘तस्करी’ गर्दै आएको थियो ।

दुई महिनापछि रीतासहित नौ जनालाई हेर्न चिनियाँ र कोरियन टोली आयो । टोलीमा पार्क ही च्याङ थिइन् । उनीहरुले उपस्थित युवतीहरुको फोटो खिचेर चीन र कोरिया पठाउने गरेका रहेछन् । उताबाट मन पराएपछि उनीहरुलाई पठाउने काम व्युरोले गर्दै आएको रहेछ । त्यहाँ भेला भएका युवतीहरुको पनि कीर्तेगरी नागरिकता र पासपोर्ट बनाउने गरेको तथ्य फेला परेको छ ।

चिनियाँसँग विवाह गर्न राजी भएकी रीतालाई चीनको उत्तरी प्रान्त हर्विनमा पुर्‍याइयो । त्यहाँ छोरा जन्माइदिनुपर्छ भनेर गरिएको प्रस्तावपछि उनी हच्किइन् । नेपालमा दिइएको आश्वासन र त्यहाँको व्यवहार फरक थियो । उक्त क्षेत्रमा दैनिक चार पाँच जनाले यौन दुरव्यवहार गर्ने गरेको उनले सुनाईन् ।

आफू बेचिएको थाहा पाएपछि उनले नेपाली दूतावासमा सहयोग मागेर त्यहाँबाट नेपाल फर्किएकी हुन् । उनले दिएको जानकारीका आधारमा सीआईबीले उक्त म्यारिज व्युरोमा छापा मारेको छ । पाँचतारे होटल जस्तै देखिने व्युरोबाट सञ्चालक पासाङ शेर्पा भनिने छेरु शेर्पा र कोरियन नागरिक ही चाङ पार्क तथा नेपाली युवती खोज्ने विपिन नगरकोटीलाई प्रहरीले पक्राउ गरेको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।