११ भदौ, काठमाडौं । नेपाली सेनाले काठमाडौं तराई दु्रुत मार्ग (फास्ट ट्रयाक) ३ बर्ष ६ महिना भित्र सम्पन्न गर्ने जनाएको छ ।बुधबार पत्रकार सम्मेलन गर्दै सेनाले दु्रत मार्ग निर्माण सम्बन्धी जानकारी गराएको हो ।

विस्तृत आयोजना प्रतिवेदन बमोजिम आयोजनाको लागत १ खर्ब ५५ अर्ब रुपैयाँ रहेको छ । मुल्य अभिवृद्धि कर सहित कुल लागत १ खर्ब ७५ अर्ब रहेको छ । अन्तराष्ट्रिय परामर्शदाताबाट तयार गरिएको विस्तृत आयोजना प्रतिवेदन डिपिआरमा आयोजनामा निर्माण हुने सम्पुर्ण संरचनाहरुको मात्र लागत अनुमान गरिएको छ । आयोजना निर्माणको दौरान हुन आउने अन्य विविध खर्चहरुको बारेमा भने सेनाले बताएको छैन । निर्माणको समयमा आउने विविध र भैपरि खर्चको नेपाल सरकारले उपलब्ध नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए ।

दु्रत मार्ग खोकनाबाट सुरु भई नीजगढ सम्म ७२ दशमलब ५ किलोमिटर को ४ लेनको बाटो निर्माण हुने भएको छ । यो यसअघिको डिपिआर को भन्दा ३ दशमलब ७० किलोमिटर सडक लम्बाई कमि हो । पहाडी भुभागमा २५ मिटर र समथरमा २७ मिटर चौडाको बाटो निर्माण हुने भएको छ । यस मार्गमा बन्ने ८७ पुल मध्ये विशेष प्रकृतिको १६ र अन्य पुल ७१ वटा बनाईने भएको छ । यो सडकमा ३ वटा सुरुङ्ग मार्ग बन्ने भएको छ । महादेव डाँडामा ३ दशमलब ३५ किलोमिटर र छोक्रेमा १ दशमलब ६३ किलोमिटर र लेनडाँडामा १ दशमलब ४ किलो मिटर सुरुङ्ग मार्ग बन्ने छ । यसअघि एसियाली विकास बैकले यस अघि छोक्रे डाँडा, ठिंगन र लेन डाँडामा १ दशमल ३७ किलोमिटरको सुरुङ्गमार्ग बनाउने प्रस्ताव गरेकोमा सेनाले पुनःरेखांकन गरेर तीन स्थानमा सुरुङ्ग मार्ग बनाउन लागेको काठमाडौं तराई द्रुतमार्गका आयोजना प्रमुख एवं सहायक रथी शरदलाल श्रेष्ठले बताए ।

खोकनाको विवाद मिलाउनका लागि सेनाले दुई स्थानको रेखांकन परिर्वतन गरेको छ । खोकना क्षेत्र र महादेवटार लेन डाँडा क्षेत्र गरी दुई ठाउमा रेखांकन परिर्वतन भएको हो । धार्मिक एवंम सांस्कृतिक महत्व बोकेको खोकना इलाकाको सिकाली मन्दिर साथै कोदेश क्षेत्रलाई संरक्षण हुने गरि सामान्य रेखांकन परिर्वतन गरिएको नेपाली सेनाले जनाएको छ । साथै महादेवटार देखि लेनडाँडासम्मको खण्डमा एडिबी द्धारा प्रस्तावित टनेलको विकल्पमा तथा नयाँ थप टनेलहरु सहित रेखांकन परिर्वतन भएको छ ।

दु्रत मार्गको सम्पुर्ण कामको ८ प्रतिशत काम सम्पन्न भईसकेको सेनाले जनाएको छ । रक्षा मन्त्रालयले पेश गरेको ५ महिना पछि यही भदौ १ गते मन्त्रीपरिषद् बैठकले दु्रत मार्ग निर्माणको डिपिआर स्वीकृत गरेको थियो । दु्रत मार्ग निर्माणको क्रममा १ लाख ५१ हजार रुख काटिने संभावना छ ।