एजेन्सी । थाइल्याण्डका राजा महा वजिरालंगकर्णले शनिबार राज्याभिषेक गरेका छन् । बैंककस्थित ग्राण्ड प्यालेसमा जल सेचन गरेर राज्याभिषेक गराइएको दरबारका अधिकारीहरुले जनाएका छन् ।
थाइल्याण्डमा राज्याभिषेकलाई राज्य संचालनको पूर्ण अधिकारका लागि गरिने एउटा महत्वपूर्ण सांस्कृतिक प्रक्रियाको रुपमा लिइन्छ ।

पवित्र जल राजाको शिरमा छर्केर शुद्ध बनाएर राज्याभिषेक गराइने धार्मिक तथा सांस्कृतिक परम्परा रहेको छ । स्थानीय समयानुसार शनिबार विहान ९ बजेदेखि सुरु भएको राज्याभिषेक समारोहको टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिएको थियो । दिउसो १ बजे सम्म समारोह चलेको थियो ।

राज्याभिषेक समारोहमा राज्याभिषेकका लागि राजा वजिरालंगकर्ण रानी सुथिडासहित उपस्थित हुनु भएका थिए । थाई नरेश वजिरालंगकर्णले केही दिन अगाडी मात्रै आफ्नै सुरक्षामा खटिएकी महिलासँग विवाह गरेका थिए । ६६ बर्षीय नरेशले ४० बर्षीया महिलासँग तेस्रो विहे गरेर उनको नाम रानी सुथिडा राखिएको छ ।

अहिले विहे गरेकी महिला राजा वजिरालंगकर्ण युवराज छँदै सन् २०१४ मा अंगरक्षकको समूहमा प्रवेश गरेकी थिइन् । सुथिडाले राजाको विशेष सुरक्षा दस्तामा रहेर लामो समय काम गरेकी थिइन्। शाही सुरक्षामा जोडिनु अघि उनी थाई एयरलाइन्समा परिचारिका थिइन् ।

राजा वजिरालंगकर्णको यसअघि तीन जनासँग विवाह भएपनि तीनै जनासँग सम्बन्ध बिच्छेद भैसकेको छ । थाई नरेशले तेस्री श्रीमतीसँग पाँच बर्षअघि १३ बर्ष लामो वैवाहिक सम्बन्धलाई विच्छेद गरेका थिए । पहिलेका तीन विवाहबाट थाई नरेशका सात सन्तान छन् ।

थाईल्यान्डमा लामो समय राज्य गरेका भूमिवोल अदुल्यादेजको सन् २०१६ मा निधन भएपछि उनका छोरा वजिरालंगकर्ण राजा बनेका हुन् । थाईल्यान्डमा संवैधानिक राजतन्त्र छ । राजपरिवारलाई थाइहरूले निकै श्रद्धा गर्छन् र उनीहरूसँग शक्ति पनि छ । थाईल्यान्डमा राजपरिवारको आलोचना गर्न मनाही गरेको कडा कानूनी व्यवस्था छ ।

तस्वीरहरुः बीबीसी /सीएनएन