३० साउन, काठमाडाैं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ।  

पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन्। गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ। सत्ययुगमा दानबद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बलि बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ।

जनै पूर्णिमाका अवसरमा आज पशुपतिनाथसहित देशभरका विभन्न मन्दिरमा भक्तजनकाे भीड लागेकाे थियाे । हेराैं केही तस्वीर

जनैपूर्णिमाका अवसरमा काठमाडौँको पशुपति क्षेत्रमा पुरोहितको हातबाट जनै आमन्त्रण र रक्षाबन्धन गर्ने सर्वसाधारणको भीड । तस्वीरः चन्द्रकला क्षेत्री, रासस
जनैपूर्णिमाको अवसरमा बिहीबार तनहुँको शुक्लागण्डकी नगरपालिका-२ गाछेपानीस्थित मुक्तिनाथ च्यवनधाममा जनै आमन्त्रण गर्न आएका सर्वसाधारणको भीड । तस्वीरः कृष्ण न्यौपाने, रासस
काठमाडौँको पशुपतिनाथ मन्दिर परिसरमा बिहीबार जनैपूर्णिमाका अवसरमा रक्षाबन्धनको डोरो नाडीमा बाँध्दै बालबालिका । तस्वीरः रोशन सापकोटा, रासस
जनैपूर्णिमाका अवसरमा काठमाडौँको पशुपतिनाथ मन्दिर परिसरमा पुरोहितको हातबाट रक्षाबन्धनको डोरो नाडीमा बाध्ने र जनै आमन्त्रित गर्ने सर्वसाधारण भीड । तस्वीरः रोशन सापकोटा, रासस
काठमाडौँको पशुपतिक्षेत्र राममन्दिर परिसरमा बिहीबार जनै पूर्णिमाको अवसरमा वेदविद्याश्रमका विद्यार्थी जनै आमन्त्रणको तयारी गर्दै । वैदिक विधिद्वारा सप्तऋषिलाई तर्पण गरी आमन्त्रित गरिएका नयाँ जनै फेर्ने तथा रक्षा बन्धनको डोरो नाडीमा बाँध्ने संस्कृतिलाई निरन्तरता दिन जलाशय एवम् शक्तिपीठमा जनै आमन्त्रण गरिने प्रचलन छ । तस्वीरः रोशन सापकोटा, रासस
जनैपूर्णिमाका अवसरमा काठमाडौँको पशुपतिनाथ मन्दिर परिसरमा पुरोहितको हातबाट जनै आमन्त्रित गर्दै सर्वसाधारण । तस्वीरः रोशन सापकोटा, रासस
काठमाडौँको पशुपतिनाथ मन्दिर परिसरमा बिहीबार जनैपूर्णिमाका अवसरमा रक्षाबन्धनको डोरो नाडीमा बाध्दै बालिका । तस्वीरः रोशन सापकोटा, रासस
जनै पूर्णिमाको दिन बिहीबार मध्यपुरथिमि–७ स्थित नगदेशमा रहेको विसन्तकी मन्दिर (शिलेश्वर महादेव) को दर्शन गर्दै भक्तजन । यहाँ गोसाईकुण्डको पानी आउने जनविश्वास भएकाले आजको दिन दर्शन गर्नेको भीड लाग्ने गर्दछ । तस्बिरः रत्न श्रेष्ठ, रासस
पाल्पाको रामपुर नगरपालिका– ७ स्थित साउनेधारामा बिहीबार जनै पूर्णिमाका दिन सामूहिक रुपमा ल्याइएको जनै पुरोहितबाट मन्त्रिदै । तस्बिरः सुशीला रेग्मी, रासस