१२ असार, विराटनगर । इस्लाम धर्मावलम्बीको महान् पर्व इद उल फित्र आज बिहानैदेखि धुमधामका साथ मनाइरहेका छन् ।

पवित्र महिना रमजानको एक महिनाको लामो रोजा (उपवास) राखेर चन्द्रमाको दर्शन गरेपछि आज बिहानदेखि नै मुस्लिम धर्मावलम्बीहरु धार्मिक विधिपूर्वक उत्साहका साथ यो पर्व मनाउनमा जुटेका छन् ।

यस पर्वको उपलक्ष्यमा मोरङमा मुस्लिम धर्मावलम्बीहरु बिहानै स्नान गरी नयाँ बस्त्र धारण गरेर मस्जिदमा पुगेर नमाज अदा गरिरहेका छन् । नमाज अदा गरेपछि आपसी वैमनस्यतालाई त्याग्दै एकापसमा शुभकामना आदानप्रदान गरिरहेका छन् । यसका साथै यो पर्व धुमधामका साथ मनाउनका लागि गरिबलाई दान दिने पनि गरिन्छ ।

यो पर्वका अवसरमा मुस्लिम धर्मावलम्बीले विभिन्न प्रकारका पकवानका साथै सेवईका खीर अनिवार्य रुपमा खाने गर्छन् ।

पर्सा

यसैगरी इस्लाम धर्मावलम्बीको महान् पर्व इद उल फित्र पर्सामा पनि आज उल्लासमय वातावरणमा मनाइरहेका छन् ।

मुस्लिम समुदयाले विगत एक महिनादेखि गर्दै आएको पवित्र रमजान व्रत आज बिहान इद उल फित्रको नमाज अदा गरेसँगै समाप्त भएको छ ।

मुस्लिम समुदायका पुरुष बिहानै स्नान गरी पवित्र भएर जिल्लामा रहेका मस्जिद तथा इदगाह पुगेर बिहान ९ः१५ बजेको शुभसाइतमा इदको नमाज पढेसँगै एक महिना लामो रमजान व्रत समाप्त भएको हो ।

तीन दिनसम्म मनाइने इदमा यो समुदायका व्यक्तिले गरिब तथा असहाय व्यक्तिलाई मद्दत गर्नुका साथै वर्षभरि जम्मा गरेको फितरा (आम्दानीबाट दानका लागि निकालिएको धन) बाँडी सबैलाई खुसी प्रदान गर्ने गरिन्छ । रासस