१९ जेठ, काठमाडौं ।

भरतपुर घटनाको निर्णय छिटो गर्न नेकपा एमालेको चर्को दवाव दिएपनि निर्वाचन आयोगले आज पनि निर्णय गर्न सकेन । रोकिएको महानगरपालिका वडा नम्बर १९ को पुनः मतगणना गर्ने वा पुनः निर्वाचन ? के गर्ने भन्ने अन्यौल भएका कारण निर्वाचन आयोग अझै निर्णयमा पुग्न सकेको छैन ।

निर्वाचन आयोग श्रोतका अनुसार आज निर्णय गर्ने भनिए पनि सबै आयुक्तहरुको उपस्थित नभएका कारण निर्णय हुन सकेन । विषेश काम देखाउँदै निर्वाचन आयुक्त इला शर्मा आजको आयोगको बैठकमा उपस्थित भइनन् ।

आयोगले निर्णय गर्न नसक्दा त्यसको प्रभाव संसद र संसदले गर्ने काममा परेको छ । आफूहरुले भनेअनुसार पुनः मतगणना हुने गरी चितनव घटनाको टुंगो नलागेसम्म संसद अवरोध नहटाउने प्रमुख प्रतिपक्षी नेकपा एमालेले चेतावनी दिँदै आएको छ । एमालेकै अवरोधका कारण भोलीदेखि शुरु हुने प्रधानमन्त्रीको चुनावी प्रकृया र २१ गतेको चुनावमा पनि असर पर्ने देखिएको छ ।