एजेन्सी । विदेश घुम्न जाने सोच बनाउनुभएको छ ? रकमको जोहो पनि गर्दै हुनुहुन्छ होला । थाहा पाईराख्नुस् विश्वका सबैभन्दा महंगा र सस्तो शहर । ईकोनोमिकक्स इन्टेलिजेन्स यूनिट ईईयूले बार्षिक सर्वेक्षणपछि सार्वजनिक गरेको प्रतिवेदनमा विश्वको सबैभन्दा महँगो शहरका रुपमा सिंगापुरलाई देखाइएको छ ।

सिँगापुरमात्र होईन हङकङ्ग र फ्रान्सको पेरिस पनि उत्तिकै महँगो शहरका रुपमा रहेको ईईयूले जनाएको छ । पछिल्लो ३० बर्षदेखि ईईयूले १ सय ३३ शहरमा उपभोग्य बस्तु, दैनिक कृयाकलापका लागि हुने खर्चको मूल्य हेरेर तुलनात्मक अध्ययन गर्दै प्रतिवेदन सार्वजनिक गर्ने गरेको छ ।

ईईयूको ईतिहासमा पहिलोपटक ३ वटा शहर एकैपटक सबैभन्दा महँगा शहरको शिर्ष स्थानमा परेका हुन् । गतबर्षको सर्वेक्षणमा महँगा मुख्य १० शहरमा युरोपका चार शहर थिए जसमा पेरिस दोस्रो स्थानमा थियो । विश्वका महँगा शहरहरुको सूचिमा सिंगापुर पहिलो, फ्रान्सको पेरिस दोस्रो, चिनको हङकङ्ग तेस्रो, स्विटजरल्यान्डको ज्यूरिख चौथो, जेनेभा पाँचौ स्थानमा छन् ।

यस्तैगरी जापानको ओसाका छैठौं, दक्षिण कोरियाको सिओल सातौं, डेनमार्कको कोपनहेगन आठौं, अमेरिकाको न्यूयोर्क नवौं र ईजरायलको तेलअविभ दशौं महंगा शहरभित्र पर्दछन् । सर्वेक्षण प्रतिवेदन तयार गर्ने कार्यमा संलग्न रहेकी ईईयूकी रोक्साना स्लावशेवाले २००३ देखि पेरिस १० मुख्य शहरको सूचिमा रहँदै आएको बताइन् ।

अन्य यूरोपेली शहरको तुलनामा पेरिसमा मदिरा, यातायात र सूर्तिजन्य पदार्थमात्रै सस्तो रहेको पाईएको रोक्सानाले बताइन् । पेरिसमा एक महिलाको कपाल काटेको खर्च ११९.०४ डलर रहेको छ भने स्विटजरल्यान्डको ज्यूरिखमा ७३.९७ र जापानको ओसाका शहरमा ५३.४६ डलर रहेको छ ।
यसबर्ष महंगा र सस्ता शहरहरुको र्याङकिङ्गमा मुद्राको मूल्यमा उतारचढावका कारण असर परेको ईईयूले जनाएको छ । जसका कारण अर्जेन्टिना, ब्राजिल, टर्की र भेनेजुएलजस्ता देशमा खर्चमा निक्कै कमी आएको छ । भेनेजुएलामा गतबर्ष महंगीदर १० लाख प्रतिशतसम्म पुगेपछि त्यहाँको सरकारले नयाँ मुद्रा सुरु गर्नुपरेको थियो ।

यसैकारण भेनेजुएलाको काराकास शहर विश्वका सबैभन्दा सस्तो शहर बनेको छ । विश्वका सबैभन्दा सस्ता शहरहरुमा भेनेजुएलाको काराकास पहिलो, सिरियाको दमास्कस दोस्रो, उज्वेकिस्तानको ताशकन्द तेस्रो, कजाकस्तानको अलमाती चौथो र भारतको बैंग्लोर पांचौ स्थानमा परेका छन् । यस्तैगरी पाकिस्तानको कराँची छैठौं, नाईजेरीयाको लागोस सातौं, अर्जेन्टिनाको ब्यूनस आर्यस आठौं भारतको चेन्नई नवौं र दिल्ली दशौं सस्तो शहरका रुपमा रहेको पाईएको प्रतिवेदनमा उल्लेख छ ।