काठमाडौं, २३ बैशाख । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपाल बीच एकीकरण घोषणा भएको छ । प्रज्ञा भवन कमलादीमा आयोजित समारोहमा एकता घोषणा पत्रमा फोरम अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्तिका संयोजक डाक्टर बाबुराम भट्टराइले हस्ताक्षर गरेका छन् ।

नयाँ पार्टीको नाम समाजवादी पार्टी नेपाल रहेको छ । घोषणापत्रमा संघीय समाजवादी र नयाँ शक्ति दुवै पार्टी विघटन गरिएको उल्लेख छ । समाजवादी पार्टीले पूर्ण समानुपातिक समावेशी संसदीय प्रणालीको वकालत गर्ने भएको छ भने प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली अवलम्बन हुनुपर्ने मान्यता अघि सारेको छ ।

लामो समयदेखि छलफलमा रहेका दुई पार्टीबीच गएको शनिबार एकीकरणको सहमति जुटेको थियो । नयाँ बन्ने पार्टीमा तत्कालीन नयाँ शक्ति पार्टीका संयोजक भट्टराई संघीय परिषद्को अध्यक्ष र तत्कालीन संघीय समाजवादी फोरमका अध्यक्ष यादव केन्द्रीय समिति अध्यक्ष बन्ने सहमति भएको छ । अन्य पार्टीलाई पनि एकताका लागि समाजवादी पार्टीले अपिल गरेको छ ।

तस्वीरहरुः रासस