३ फागुन, काठमाडौं । चीनमा रहेका नेपालीहरुलाई उद्दार गर्नको लागि नेपाल वायु सेवा निगमको एयलाइन्स चीन उडेको छ । विमान पौने ३ बजे चीनको वुहानका लागि उडेका छन् । नेपालबाट विमान वुहान पुग्नुअघि नै त्यहाँ भएका नेपालीहरुलाई विभिन्न शहरबाट वुहान ल्याइने छ । केही विद्यार्थीहरुले आफूहरु बस चढ्न लागेको भन्दै उत्साहित भएर तस्बिरहरु सामाजिक सञ्जाला राखेका छन् ।

३ जना क्याप्टेनसहित ६ जना क्याबिन क्रु, १ जना इन्जिनियर, १ जना लोडमास्टर र ४ जना स्वास्थ्यकर्मीहरुको टीमसहित विमान पौने ३ बजे चीनको लागि उडेको छ । विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको तालिम र मापदण्ड पूरा गरेर विमान चीन पठाउन लागिएको नेपाल वायु सेवा निगमका प्रवक्ता अर्चना खड्काले बताइन् । विमान आइतबार बिहान सवा २ बजे नेपाल फर्कने भएकोले अन्य उडानहरु प्रभावित नहुने उनको भनाइ छ । उडानको खर्च व्यवस्थापन सबै नेपालका सरकारले बेहोर्ने कुरा भएको खड्काले बताइन् ।

वुहानमा पुगेपछि सबै नेपालीहरू विमानमा प्रवेश गरेपछि मात्र अन्तिममा चिकित्सा टोलीका चार जना विमानमा प्रवेश गर्नेछन् । नेपालमा विमान अवतरण भएपछि पनि सुरुमा उक्त टोलीका सदस्यहरू नै सबैभन्दा पहिले ओर्लिनेछन् । विमानस्थलबाट खरिपाटी पुर्‍याउने बसका चालक र सहयोगीले क्वारन्टाइनमा बस्नुपर्दैन ।

अधिकारीहरूका अनुसार सबै मानिस ओर्लिएपछि त्यहाँ विशेष किसिमले बसको सफाइ हुनेछ। त्यसपछि मात्र उनीहरूले बाहिर निस्किन पाउनेछन् । हालसम्मको तयारी अनुसार उनीहरूलाई क्वारन्टाइनमा राखिनेछैन ।तर चीन जाने नेपाली सेनाका चिकित्सक र चालकदलका सदस्यहरूलाई क्वारन्टीनमा राख्ने तयारी गरिएको छ । उनीहरुलाई नगरकोटमा बनाइएको छुट्टै क्वारेन्टाइनमा राखिने छ ।