१५ माघ, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीको बैठक सुरू भएको छ । राष्ट्रिय सभा गृहमा शुरु भएकाे पाँच दिनसम्म चल्ने बैठकमा अध्यक्षद्वयले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनमाथि पार्टीका केन्द्रीय सदस्यहरूले आफ्ना धारणा र प्रतिक्रिया राख्ने कार्यक्रम रहेको छ ।

तत्कालिन एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरणको २१ महिनामा केन्द्रीय समितिको बैठक दोस्रो पटक बस्न लागेको हो । अध्यक्ष केपी शर्मा ओलीले बैठकको औपचारिक उद्घाटन गर्दै कार्यक्रम शुरु भएको हो । बैठकमा अध्यक्ष ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुवैका तर्फबाट प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ ।

पार्टीको विधानअनुसार बैठकमा पेश गर्ने राजनीति प्रतिवेदन १४ माघमा बसेको पार्टीको सचिवालय बैठकले अनुमोदन गरिसकेको छ । २९ मङ्सिर– ६ पुसमा बसेको पार्टीको स्थायी समिति सदस्यले राखेका धारणा, प्रतिक्रिया र सुझावहरूलाई आवश्यक संशोधन गरेर दुवै अध्यक्षले प्रतिवेदन तयार पारेका छन् ।

आजबाट सुरू भएको बैठकमा पार्टी महासचिव विष्णु पौडेलले साङ्गठनिक र विधान संशोधन प्रस्ताव तथा सातै प्रदेशका अध्यक्षहरूले प्रगति प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।