२२ साउन, काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तरबमोजिम सिमेन्ट उत्पादन नगर्ने चार उद्योगलाई कारवाही गरेको छ ।

विभागको आज बसेको बैठकले नेपाल अल्ट्राटेक सिमेन्ट उद्योग मोरङ, जानकी सिमेन्ट उद्योग प्रालि सुनसरी, चितवन सिमेन्ट उद्योग प्रालि नवलपरासी र नेपाल अम्बुजा सिमेन्ट उद्योग प्रालि भैरहवालाई कारवाही गरेकोे हो ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले चारवटै सिमेन्ट उद्योगले उत्पादन गर्ने सिमेन्ट नेपाल गुणस्तरअनुरुप नरहेकाले कारवाही गरेको जानकारी दिनुभयो ।

कारवाही गरिएकामध्ये नेपाल अल्ट्राटेक सिमेन्ट बिक्री वितरण रोक र स्पष्टीकरण माग गरिएको, चितवन सिमेन्टको इजाजतपत्र रद्द, नेपाल अम्बुजा सिमेन्टको इजाजतपत्र स्थगन र जानकी सिमेन्टको बिक्री वितरण रोक र स्पष्टीकरण माग गरिएको विभागले जनाएको छ ।