काठमाडौं, ३ बैशाख । यु–१९ विश्वकप क्रिकेट अन्तर्गत एशिया छनौटमा नेपालले ओमानविरुद्ध १ सय ५० रनको सानदार जित दर्ता गरेको छ । मलेसियाको क्वालालाम्पुरस्थित सेलान्गोर टर्फ मैदानमा नेपालले दिएको २ सय ३० रनको विशाल लक्ष्य पछ्याएको ओमान ४४ दशमलब १ ओभरमा ७९ रनमै अलआउट हुन पुग्यो ।

ओमानका अमनप्रित सिराह र जिल तन्नाले समान १३ रन बनाउनुबोहक अन्य खेलाडीको दोहारो अंकको रन जोड्न सकेनन् । ओमानलाई सस्तैमा समेट्न पवन सर्राफले ३, सूर्य तामाङले २, प्रतिस जिसी, कुशल मल्ल, भीम सार्की र कमलसिंह ऐरीले समान एक÷एक विकेट खसाले । यसअघि टस हारेर पहिला ब्याटिङमा तानिएको नेपालले ४३ दशमलब २ ओभरमा अलआउट हुँदैै २ सय २९ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ७५ रनको योगदान गरे ।

प्रतिस जीसीले ४१, भीम सार्कीले ३९, अभिषेक बस्नेतले १५ र रित गौतमले १० रन जोडे । अरु खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् । नेपालले अन्तिम खेलमा आगामी बिहीबार कुवेतसँग प्रतिष्पर्धा गर्नेछ । चारमध्ये ३ खेल जितेको नेपाल अंकतालिकाको दोस्रो स्थानमा छ । अब नेपाललाई शीर्ष स्थानमा फर्कन अहिले ४ वटै खेल जितेर शीर्ष स्थानमा रहेको युएइले अन्तिम खेल हार्नुपर्छ ।

अन्तिम खेलमा बिहीबार नै युएइले ओमनसँग खेल्नेछ । प्रतियोगिताको शीर्ष स्थानमा रहने टोलीले मात्रै सन् २०२० मा दक्षिण अफ्रिकामा हुने १९ वर्ष मुनीको आइसीसी विश्वकप क्रिकेटमा प्रतिष्पर्धा गर्न पाउनेछ ।