५ भदौ, काठमाडौं । श्रीलंकामा हुने एसीसी यू–१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा भएको छ । एसियाका शीर्ष टोलीहरूले खेल्ने प्रतियोगितामा सहभागी हुने १५ सदस्यीय नेपाली युवा टोलीको घोषणा भएको हो ।

रोहितकुमार पौडेलको कप्तानीमा रहेको टीममा सन्दीप जोरा, सूर्य तामाङ र आसिफ शेखले पुनरागमन गरेका छन् । प्रतियोगितामा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान जस्ता टेस्ट राष्ट्रहरूको पनि सहभागिता छ । अन्य सहभागीमा कुवेत र युएई छन् ।

खेलतालिका अनुसार नेपालले आफ्नो पहिलो खेल श्रीलंकासँग ६ सेप्टेम्बरमा खेल्नेछ । यस्तै दोश्रो खेल ८ सेप्टेम्बरमा बंगलादेशसँग र तेश्रो तथा अन्तिम खेल सेप्टेम्बर १० तारिखमा युएईसँग खेल्ने एसीसीले सार्वजनिक गरेको खेलतालिकामा उल्लेख छ । खेल हरेक दिन बिहान ९ः३० बजे शुरु हुनेछ ।

राउन्ड रोबिन लिगपछि दुवै समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । गत असार महीनामा मलेसियामा सम्पन्न एसिसी यू–१९ इन्टर्न रिजनको उपाधि जितेर नेपाल एसिया कपमा छनोट भएको थियो । त्यतिबेला नेपालले फाइनल खेलमा हङकङलाई छ विकेटले पराजित गर्दै उपाधि हासिल गरेको थियो ।

नेपाल प्रतियोगिताको समूह ‘बी’मा छ । नेपाल रहेको समूहमा श्रीलंका, बंगलादेश र युएई छन् । खेल यही भदौ १९ देखि २८ गतेसम्म हुनेछ । यी हुन् नेपाली टोलीमा परेका खेलाडीहरुः

रोहितकुमार पौडेल (कप्तान), रित गौतम, पवन सर्राफ, महम्मद आसिफ शेख, सन्दीप जोरा, भीम सार्की, हरिबहादुर चौहान, कुशल मल्ल, रसिद खान, कमलसिंह ऐरी, सागर ढकाल, सूर्य तामाङ, खडकबहादुर बोहरा, लोकेशबहादुर बम, प्रतिस जीसी