एजेन्सी । भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ विरुद्ध आपत्तिजनक टिप्पणी गरेको आरोपमा प्रहरीले एक टेलिभिजन च्यानलका प्रबन्ध निर्देशकसहित ३ पत्रकारलाई पक्राउ गरेको छ ।
हजरतगंज प्रहरी थानाका इन्चार्ज राधारमण सिंहले शुक्रबार अबेर राति स्वतन्त्र पत्रकार प्रशान्त जगदीश कन्नौजियालाई पक्राउ गर्न मुख्यमन्त्री कार्यालयबाट निर्देशन आएको बताए । शनिबार अपरान्ह हजरतगञ्ज थाना प्रहरी र साइबर सेलको टोलीले प्रशान्तलाई दिल्लीबाट पक्राउ गर्यो । जगदीशले गएको जुन ६ मा आफ्नो ट्वीटर ह्याण्डलमा ‘प्यार लुकाएर लुक्दैन योगी जी’ शीर्षकमा एक पोष्ट गरेका थिए ।

त्यसमा एउटा भिडियो पनि अपलोड गरिएको थियो । जुन भिडियोमा एक युवती मुख्यमन्त्री कार्यालय बाहिर उभिएर आफूलाई योगी आदित्यनाथको प्रमिका बताइरहेकी थिइन् । प्रशान्त यसअघि पनि योगी आदित्यनाथमाथि उनको जन्मदिनबारे टिप्पणी गरिसकेका व्यक्ति हुन् । यो विषयमा एक टेलिभिजन च्यानलमा बहस पनि चल्यो ।

कानपुरकी एक महिलाको मुख्य मन्त्री योगी आदित्यनाथसँगको सम्बन्ध छ कि छैन ? भन्ने विषयमा प्रत्यक्ष बहस कार्यक्रम संचालन भएको थियो । त्यसपछि प्रहरीले न्यूज च्यानलका प्रबन्ध निर्देशक इशिका सिंह सहित दुई जनालाई पक्राउ गरेको हो । उनीहरुविरुद्ध गलत खबर सम्प्रेषण गरेको आरोपमा अनुसन्धान आघि बढाइएको भारतीय सञ्चारमाध्यामले जनाएका छन् ।