सामान्य दिनहरु भन्दा उनको याद आज अलि धेरै नै आइरहेको थियो ।

ठ्याक्कै चार बर्ष अगाडि आजकै दिन त भेट भएको थियो उनीसंग । भित्तामा उनको मन्द मुस्कान सहितको उज्यालो अनुहारको फोटो झुन्डिरहेको छ । हाम्रो  मायाको चिनो यहि  एउटा फोटो मात्र छ म संग ।

यदि त्यो फोटोमा आत्मा हुँदो हो त  उनको फोटो अगाडि बसेर उनी संगको बिछोड पछिको मेरो तड्पाइ, उनलाइ सम्झेर रोएका हरेक पलहरु देखेर म प्रति गहिरो सहानुभुति प्रकट गर्थ्यो होला यो तस्बीरले ।

[quote_box_left]

लेखक
राम ढुंगाना ‘अल्पमत’

Ram Dhungana Alpamat

[/quote_box_left]

फोटोको बाहिरी  फ्रेममा  अलिअलि धुलो लागेछ । उठेर धुलो पुछ्न हात नजिकै लम्काए तर फोटोमा छुने हिम्मत गर्न सकिन ।

जब उनले मेरो प्रेम प्रस्ताब स्विकारीन र मलाइ पहिलो पटक उनको  शरीर छुन अनुमति दिए पश्चात मैले उनको अनुहारमा हल्का हातले स्पर्श गरेको थिए । त्यो क्षण बिर्सन मैले आफैलाइ भुल्न पर्छ । त्यो फोटोमा छोएर  बिछोडको पिडा झन् बल्झाउने हिम्मत गर्न सकिन ।

नजिकै सोफामा थचक्क बसे र फल्यास ब्याकमा गए ।

उनि बिछट्टै राम्री र म पनि हेरिनसक्नु सुन्दर भएर एकले अर्कालाइ मन पराएका थिएनौ । मलाइ त पुरुष भन्दा नारि सधै राम्री लाग्छिन्, उनी पनि अबश्य नै म भन्दा धेरै राम्री थिइन् । तर मेरो हेराइमा आकर्षण थिएन । स्वार्थी र मतलबी माया सायदै गरिएन ।

मैले अहिले सम्म प्रेमको सर्बमान्य परिभाषा भेटेको छैन, फरक- फरक मान्छे र ब्यक्तिहरु बिच प्रेमको फरक- फरक सकारात्मक र नकारात्मक परिभाषाहरु परिभाषित छन् ।

प्रेम जिबन जिउँने बाटो हो ।
प्रेम निस्वार्थ हुन्छ ।
प्रेममा स्वार्थ लुकेको हुन्छ ।
प्रेम नपाउँदा सम्म अमुल्य हुन्छ , पाइसकेपछि त्यो बेकारको चिज बन्छ ।

प्रेमको सर्बमान्य परिभाषा स्थापित हुन नसक्नुको कारण पनि प्रेमी- प्रेमिका बिच माया गर्ने ,माया दर्शाउने तौर, तरिका फरक भएर होला । मेरो लागि चाहिँ माया- प्रेमको परिभाषा संसारकै सबैभन्दा सुन्दर बहुमुल्य चिज । यो बिना जीवन र जगतको अस्तित्व असम्भब छ । प्रेममा त्याग हुन्छ, तपस्या हुन्छ, स्वार्थ हुँदैन । प्रेम निश्चल र कोमल हुन्छ । प्रेम शक्ति हो, उर्जा हो ।

अनि यो संसारको सुन्दर चिज प्रेम आफैमा सुन्दर छ, मैले हामी दुइ बिचको मायालाइ सिंगार्न मात्रै खोजेँ, मायाले सिंगारे, रिस उठेको बेलामा मौनताले सिंगारेँ, आपसी असमझदारी बढ्दा बल्झाउन नलागि सल्टाउन तिर लागेर सिंगारेँ । अविश्वास र शंकालाइ हाम्रो वरिपरि पनि आउन नदिइकन सिंगारेँ । प्रेम जीवन्त राख्न मैले आफुले सक्ने जति सबै कुरा गरे ।

त्यसो त उनले पनि कम गरिनन् मलाइ खुशी पार्न । उनी भन्थिन् तिम्रो खुशी भन्दा पर मेरो लागि अरु कुनै स्वार्थ छैन । तिम्रो अंगालोमा म आफुलाइ संसारको सबैभन्दा भाग्यमानी नारी ठान्छु । म तिमिबाट यत्ती चाहान्छु मलाइ गर्ने मायाँ कहिल्यै कम नहोस् ।

एक तमासले बिगत सम्झिदा हामी दुबै एकले – अर्कालाइ खुशि राख्नै तल्लिन रह्यौ र त कुनै दिन पनि हाम्रो माया -प्रेममा दरार आएन । सधैभरि सुमधुर सम्बन्ध रह्यो ।

हामी दुबै प्रेमको महासागरमा कहिल्यै उत्रन नसक्ने गरेर डुबेका थियौ ।

अहिले पनि ति पुराना रमाइला दिनहरु सम्झेर मन रोमान्चित हुन्छ । मन भित्र एकैचोटि प्रेमका ज्वारभाट हरु उठ्न थाल्छन् । जिउ पुरै प्रेममय भएर समुन्द्रमा सुनामी गए जस्तै मनभित्र प्रेमका छालहरु उफ्रिन थाल्छन् ।

दिनहरु रमाइलो संग  बितिरहेकै थिए । खुशीहरु हाम्रो आँगनभरि ढकमक्क फुलिरहेका थिए ।

खै हाम्रो मायामा कसैको आँखा लाग्यो या मेरो भाग्यमा जीवनभरी उनको साथ नलेखेको भएर हो एकदिन उसले अचानक आएर अब हाम्रो सम्बन्ध टुंगाउ भनिन्, मैले मजाक नगर भने, उनले साँचो हो अब हामी हिड्ने बाटो अलग भयो, सक्छौ भने माफ गर भनिन् । मैले कारण सोधे। उनले बाध्यता भनिन्। तर कस्तो बाध्यता खुलाउन चाहिनन् ।

एकछिन निशब्द भए । म बोल्न सकिन मौन भए  मेरो मौनता उनले म देखि छुटकाराको स्विकारोक्ती सम्झिइन् होला । म बाट कुनै प्रतिक्रियाको आशै गरिनन् ।

हामी बिचको सम्बन्धलाइ मिठो सपना सम्झेर भुल्न र सम्बन्धको उतारचढाब र मिलन बिछोडलाइ स्वीकार गर्दै नयाँ जीवनको शुरुवात गर्न सल्लाह दिइन् ।

मेरो आँखामा आशु टिलपिल थियो, छुट्ने बेलामा उनको हात समाए । अन्तिममा एकचोटि आफ्नै हातले मेरो आँखाको आशु पुछिदेलिन्  भन्ने सोचेको थिए, त्यसो गरिनन् । सरासर आफ्नो बाटो लागिन् ! मैले धेरै टाडा उनी ओझेल नपरुन्जेल हेरिरहे तर उनले फर्केर सम्म हेरिनन् ।

भनेको सुनेको थिए,  समय बित्दै जाँदा मनभित्रका ठुलाठुला पिडाका खाडलहरु आफसेआफ भरिन्छन्, खै त बिछोडको लामो समय भइसक्दा पनि मेरो पिडा घट्नुको सट्टा झन्झन् बल्झिदै पो छ । उनको याद धमिलो हुँदै जानुको सट्टा झन्झन् चम्किदै गइराखेको छ ।

सायद मैले उनलाइ धेरै चोखो र साचो माया गरेछु ।

हाल -: इजरायल !