८ फागुन, काठमाडौं । सन्दीप लामिछाने र उनका एजेन्ट तल्हा इसामले जनस्तरबाट चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणको लागि १ लाख ४१ हजार ५ सय ६८ रुपैयाँ सहयोग गरेका छन् ।

आइसीसी विश्वकप क्रिकेट लिग २ मा खेलको खेलमा आफूले लिएको प्रतिविकेट बराबर ८ हजार ८ सय ४८ रुपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए । उनको घोषणा अनुरुप अमेरिका र ओमानबीच भएको सिरिजमा उनले अब रंगशालामा ७० हजार ७ सय ८४ रुपैयाँ र उनका एजेन्ट इसामले त्यति नै रकम थपेर सहयोग गरेका हुन् ।

उनले ओमान र अमेरिकाबीचको सिरिजमा ८ विकेट लिएका थिए । पहिलो दिन भएको ओमानसँगको खेलमा विकेटविहीन बनेका सन्दीपले अमेरिकासँगको पहिलो खेलमा २ विकेट लिए । यस्तै ओमानसँगको दोश्रो खेलमा पनि विकेटविहीन बनेका सन्दीपले अमेरिकासँगको दोश्रो खेलमा ६ विकेट हात पारे । एउटै एकदिवसीय खेलमा ६ विकेट लिने सन्दीप नेपालकै पहिलो खेलाडी बनेका छन् ।