केदार मगर
२८ साउन, खोटाङ । बिहान ११ बजेको थियो । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा दैनिक उपभोग्यवस्तु किनमेल गर्ने सर्वसाधारणको बाक्लै चहलपहल शुरु भइसकेको थियो । किनमेल गर्ने र प्रशासनिक काम गर्न गाउँबाट आएका सर्वसाधारणको हुललाई उछिन्दै हेलमेट लगाएको सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली हातमा ढाल र लाठी बोकेर रत्नपार्कतर्फ जाँदै थियो ।

केही छिनपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका कर्मचारी सुरक्षाकर्मीको घेराभित्र डोजर लिएर रत्नपार्क पुगे । करीब १२ बजे रत्नपार्क पुगेका नगरपालिकाका कर्मचारीको सोमबारको काम ९ड्युटी० थियो मापदण्डविपरीत बनेका घरटहरा जसरी पनि डोजर लगाएर भत्काउने । तर, रत्नपार्कका स्थानीयवासीले प्रहरी र कर्मचारी आइपुग्नुअघि नै आफ्नो घर आफँै भत्काउन थालिसकेका थिए ।

सुरक्षाकर्मीको दलबलसहित रत्नपार्क पुगेका कर्मचारी दिनभर स्थानीयवासीले आफ्नो घर आफैँ भत्काएको दृश्य रमिता बनेर हेरिरहे । नगरपालिकाको योजना शाखा अधिकृत सीताराम खतिवडाको नेतृत्वमा गएको प्राविधिकसहितको टोली करीब पाँच बजे आफ्नो ड्यूटी समय सकाएर कार्यालय फर्कियो ।

मापदण्डविपरीत बनेका घरटहरा हटाएर आफ्नो नगरपालिकालाई व्यवस्थित बनाउन नगरपालिकाले साउन २० गतेदेखि अभियान शुरु गरेको थियो । यसबीचमा नगरपालिकाले मापदण्डविपरीत बनेका करीब डेढ दर्जन घरटहरा हटाइसकेको छ । लामो समयदेखि नगरपालिकाको मापदण्ड मिचेर बसेका सबैको घर तथा टहरा हटाउन नगरपालिकाले डोजर नै प्रयोग गर्नुपरेको थियो ।

यतिसम्म कि अभियानको पर्सिपल्ट साउन २२ गते डोजर लगाएर घरटहरा भत्काउँदा स्थानीयवासीले कर्मचारीमाथि हातपात नै गरेका थिए । स्थानीयवासीको अवरोधका बाबजुद नगरपालिकाले डोजर लगाएर रत्नपार्कमा सञ्चालित मोटरसाइकल वर्कसप रहेको टहरा तथा आसपासका स्थानीयवासीको घरटहरा हटाएरै छाडेको थियो ।

सुरक्षाकर्मीको बलमा सामान हटाउन नदिई जबर्जस्ती डोजर लगाएपछि प्रतिकारमा उत्रनुपरेको स्थानीयवासीले बताउँदै आएका छन् । तर, यसपटक भने त्यस्तो अवस्था आएन । रत्नपार्कका स्थानीयवासी रामकाजी खत्रीलगायतले आफ्नो घरटहरा आफैँ भत्काएर नगरपालिकाको अभियानमा सहयोग गरेका छन् ।

नगरपालिकाको अभियानमा आफूहरुको पनि साथ रहेको भन्दै उनीहरु आफैँले कामदार लगाएर दुई टहरा तथा एक घर आफैँले भत्काएका हुन् । नगरपालिकाले जसरी पनि घरटहरा भत्काउने भएपछि आफ्नो घर आफैँले भत्काएको लाहुरे हार्डवेयरका सञ्चालकसमेत रहनुभएका खत्रीले बताउनुभयो । ‘आफ्नो घर आफैँ भत्काउँदा नगरपालिकाको अभियानमा सहयोग गरेजस्तो पनि भएको छ’, उहाँले भन्नुभयो, ‘सामान पनि सुरक्षित रहने हुँदा घाटा व्यहोरेर कारवाहीको सूचीमा पर्नुभन्दा आफ्नो घर आफैँले ज्यालामा कामदार लगाएर भत्काइएको हो ।’

मापदण्ड मिचेर बनाइएका घरटहरा हटाउन पटकपटक पत्रचार गर्दासमेत स्थानीयवासीले अटेरी गरेपछि गत सोमबारबाट डोजर प्रयोग गरेर हटाउन शुरु गरिएको नगरप्रमुख दीपनारायण रिजालले बताउनुभयो । ‘अव्यवस्थित नगरपालिकालाई व्यवस्थित बनाउने अभियानमा हामी लागेका छौँ’, उहाँले भन्नुभयो, ‘अटेरी तथा अवरोध गर्ने जोसुकैको घरटहरा हटाएर व्यवस्थित र सुन्दर नगर बनाएर छाड्छौँ ।’

नगरपालिकाले जसरी पनि घरटहरा हटाउने भएपछि अहिले दिक्तेलबजार तथा आसपासका स्थानीयवासीले आफ्नो घरटहरा आफैँ हटाउन शुरु गरेका छन् । मापदण्डविपरीतका घरटहरा हटाउन नगरपालिकाले समयसीमा पनि दिएको छ । दिक्तेलबजारको अल्छेढुङ्गाबाट शुरु गरिएको अभियान क्रमशः नगरपालिकाको सबै वडामा पु¥याइने नगरउपप्रमुख विणादेवी राईले बताउनुभयो । ‘पहिलो चरणमा दिक्तेलबजारका घरटहरा हटाउन थालिएको छ’, उहाँले भन्नुभयो, ‘दोस्रो चरणमा घरटहरासँगै अन्य संरचना भत्काएर व्यवस्थित गरिनेछ ।’

सडकको दायाँ ३१ र बायाँ ३१ मिटर छोडेर मात्र भौतिक संरचना तथा घरटहरा बनाउन नगरपालिकाको तर्फबाट भनिए पनि स्थानीयवासीले जबर्जस्ती मापदण्ड मिचेर बनाएका छन् । नगर क्षेत्रभित्र मापदण्ड मिचेर घरटहरा बनाएमा अथवा नक्सापास नगरी बनाएमा नगरपालिकाले जुनुसुकै बेला भत्काउन सक्ने र भत्काउँदा लाग्ने खर्च संरचना बनाउनेबाट नै असुलउपर गरिने जनाइएको छ ।

अटेर गर्नेलाई रु पाँच लाखसम्म जरिवाना गराउन मिल्ने कानूनी प्रावधान रहेको नगरप्रमुख रिजालले बताउनुभयो । पुरानो संरचनाका घरहरु मात्र रहेको दिक्तेलबजारका अधिकांश स्थानीयवासीको घर भत्काउनुपर्ने प्राविधिकले बताएका छन् ।