१६ मंसिर, काठमाडाैं । नेपालमा चुनावका सन्दर्भमा एउटा भनाइ प्रचलित छ, नेपालीहरु हाेटलमा अघाउञ्जेल मेनु हेरेर अन्तिममा मःम चाउमिन मगाउँछन् । अर्थात जतिसुकै नयाँ दलहरु आएपनि, नेपालीहरु ठूला पार्टीलाई भाेट हाल्न छाेड्दैनन् । यसपटककाे उपचुनावमा पनि ठ्याक्कै त्यस्तै भयाे ।

नयाँ किसिममको राजनीति गरेर परिवर्तन गर्ने  दाबी गर्दै आएको साझा पार्टीले याे उपचुनावमा पनि राम्रो प्रदर्शन गर्न सकेन। फेसबुकलगायतका सामाजिक सञ्जालमा साझा पार्टीको चहलपहल राम्रै देखिएपनि भोटमा त्यो परिवर्तन हुन सकेको देखिएन। त्यसैलेहोला पार्टीका संयोजक तथा चर्चित पूर्व पत्रकार रबिन्द्र मिश्र ‘फ्रस्ट्रेसन’मा देखिए ।

उनकाे याे फ्रस्टेसन सामाजिक सञ्जालमा पाेखियाे । निकै कडा मेहेनतका बाबजुद पनि मन संख्यामा सुधार नदेखिएपछि मिश्र निराश हुनु अस्वभाविक भने होइन्। तर निराशामा मिश्रले फेसबुकमा लेखिदिए,”मत परिणामले व्यापक भ्रष्टता, असक्षमता, काण्डैकाण्ड, नेताहरूको मनमस्ती, संसदको खाली कुर्सी, युवा पलायन, देशको दोहन सबैलाई अनुमोदन पनि गरिदिएको छ, जुन चिन्ताजनक छ।”

उनको भनाईमा कतिपयले दम्भ र घमण्ड देखे। उनका आलोचनहरुले अहिले उनिमाथि हार पचाउन नसकेको आरोप लगाएका छन्। हुन पनि आफूले पाए ठीक नपाए जनता अवुझ र दास हुन् जसरी दिइएकाे उनकाे अभिव्यक्तिमा हारकाे पीडा स्पस्ट झल्किएकाे छ । अरुलाई अस्थिर राजनीति गरेकाे आराेप लगाउने साझा पार्टीले जन्मिने वित्तिकै आफूले गरेकाे जुट र फुटकाे राजनीति विर्सिएकाे छ । कतिपयले त मिश्रलाइ फेरि पत्रकारितमै फर्कन समेत सुझाव दिएका छन्।