२ भदौ, काठमाडौं । पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्याका लागि दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका सञ्चारकर्मी रवि लामिछानेसहित तीन जनालाई अनुसन्धानका लागि थुनामा राख्न अदालतले दिएको म्याद आज सकिँदैछ ।

जिल्ला अदालत चितवनले बिहीबारदेखि नै लागू हुनेगरी पाँच दिन थुनामा राख्ने अनुमति दिएको म्याद सोमबार सकिँदैछ । मंगलबार उनीहरुलाई म्याद थपका लागि अदालत पेश गरिने जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिनुभयो ।

सोमबार लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्की तीनै जनाको वयान सकिने र मंगलबार थप अनुसन्धानका लागि म्याद थपिने प्रहरी उपरिक्षक मल्लले बताउनुभयो । लामिछानेसहित तीनै जनालाई प्रहरीले गएको बिहीबार काठमाडौंबाट पक्राउ गरी चितवन लगेको थियो ।

यस्तै आइतबार मृतक पत्रकार पुडासैनीकी श्रीमती सम्झनाले लामिछानेसहित तीनैजनाविरुद्ध किटानी जाहेरी दर्ता गरेकी छन् । पत्रकार पुडासैनीले मृत्युअघि आफ्नै मोबाइलमा रेकर्ड गराएको भिडियोमा आत्महत्याका लागि आफूलाई लामिछानेसहित कँडेल र कार्कीले बाध्य बनाएको भनेकाले प्रहरीले उनीहरुलाई अनुसन्धानका लागि पक्राउ गरेको हो ।