६ भदौ, रसुवा । चालू लाइनको तार एकआपसमा जुध्दा विद्युत् प्रवाह भएका कारण सीमावर्ती क्षेत्र रसुवागढीमा आज बिहान एक कन्टेनर डिब्बा जलेर नष्ट भएको छ ।

सशस्त्र प्रहरी भन्सार सुरक्षा एवं राजश्व गस्ती २१ नम्बर गुल्म टिमुरेका गुल्मपति एवं प्रहरी नायब उपरीक्षक लक्ष्मण थापाका अनुसार सामान लिनका लागि चीनको केरूङ जाने लाइनमा पर्किङ गरी राखिएको ना ३ ख ४८७३ नम्बरको कन्टेनर डिब्बा मितेरी पुल र घट्टेखोलाबीच रसुवागढी छेउकै राजमार्गमा जलेको हो ।

हावाका कारण गढीक्षेत्रको प्रसारण लाइन एकआपसमा जुध्न जाँदा विद्युत्लाइन मुनि पार्किङ गरी राखिएको कन्टेनर डिब्बाको छतमा विद्युत्को तारले छोएपछि एक्कासी निस्केको आगोले जलेर नष्ट भएको बताइएको छ । कन्टेनरमा लागेको आगो नियन्त्रका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दा जुटे पनि नजिकमा पानीको स्रोत तथा दमकलको व्यवस्था नहुँदा आगो नियन्त्रण गर्न कठिनाइ पर्न गई डिब्बा पूरै जलेको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिनुभयो ।

विद्युत् प्राधिकरणले खम्बामा तारको राम्रो व्यवस्थापन गर्न नसकेका कारण थोरै हावाले पनि विद्युत् तार जुध्ने समस्या जटिल हुँदै गएको र चालू विद्युत्को तारमुनि सवारी साधन पार्किङ गर्नु सवारी चालककोसमेत गल्ती भएको स्थानीय बासिन्दाले बताएका छन् ।