१ कात्तिक, काठमाडौं ।
राष्ट्रिय जनता पार्टीमा निर्वाचनमा उम्मेदवार छनोट विभेदकारी भएको भन्दै केन्द्रीय कार्यालयमा धर्ना दिईएको छ । पार्टी नेतृत्वको विभेदकारी नीतिविरुद्ध भन्दै वुधबार बिहान तीन घण्टा गरिएको धर्नामा महासचिव केशव झाको नेतृत्वमा १४ जना केन्द्रीय स्तरकै नेता तथा भातृ संगठनका प्रमुखहरु सहभागी थिए ।

उनीहरुले जिल्लाले गरेको सिफारिश सूची पन्छाइएको, नेताहरुको मनोमानीमा उम्मेदवार छनोट गरिएको, आन्दोलनको योगदान भन्दा नेताहरुको निकटता हेरिएको तथा जनाधार भएकालाई भन्दा नेताको चकडी बजाउनेलाई उम्मेदवारका लागि प्राथमिकतामा पारिएको भन्दै त्यसका विरुद्ध धर्ना दिईएको बताएका छन् ।

निर्वाचन समितिले निर्वाचनका विषयमा टुंग्याउने भएपनि नेताहरुले त्यो समितिसमेत नबनाएर आफूखुशी गरेको उनीहरुको आरोप छ । उनीहरुले नेतृत्वलाई प्रतिनिधिसभाका लागि गरिएको निर्णय सच्याउन तथा प्रदेशमा विवेकपूर्ण निर्णय गर्न आग्रह गरेका छन्।